अस्तव्यस्त त्रिवि : विद्यार्थी संगठनबीच ताला लगाउने र फुटाउने प्रतिस्पर्धा 

सम्भव सिंह ठकुरी
२७ जेठ २०७९ ७:२१

काठमाडौं। नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्व विद्यालयमा यतिबेला विद्यार्थी संगठनहरूबीच ताला लगाउने र फुटाउनेको होडबाजी चलेको छ।

नेपाली कांग्रेस निकट भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट भ्रातृसंस्था अनेरास्ववियुबीच यो प्रतिस्पर्धा चलेको हो। त्रिवि नेविसंघले जेठ १९ गते कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा ताला लगाएको हो।

नेविसंघले सेमिष्टर प्रणालीको मुल मर्म अनुसार युग सुहाउँदो पाठ्यक्रम निर्माण, शैक्षिक क्यालेण्डरको समयमै पूर्ण कार्यान्वयनलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो। तर जेठ १७ गते नेकपा (क्रान्तिकारी) ले ताला फुटाएको थियो।

तर नेकपा (क्रान्तिकारी) को लेटर प्याड दुरुपायोग गरि त्रिविकै पदाधिकारीको मिलेमतोमा ताला खोलिएको भन्दै नेविसंघले पुनः तालाबन्दी गरेको जनाएको छ।
‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौँ रुपैयाँ घुसपैठ गरी नेकपा (क्रान्तिकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँसेर नेविसंघले लगाएका ताला फुटाउने कूचेष्टा गर्नु आफैँमा खेदजनक छ’, नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेविसंघले विश्वविद्यालयको अनुसन्धान केन्द्रहरुमा सहज पहुँच र सहभागिताको सुनिश्चितता, सेमिष्टर प्रणालीको मुल मर्म अनुसार युग सुहाउँदो पाठ्यक्रम निर्माण,शैक्षिक क्यालेन्डरको समयमै पूर्ण कार्यान्वयन,कक्षाकोठाको चार पर्खाल भित्र विद्यार्थीको सुनौलो भविष्यको हत्या गर्ने परीक्षा प्रणालीको अन्त्य गरि सेमिष्टर प्रणाली वैज्ञानिक प्रणाली लागु गर्नुपर्ने, समयमै परीक्षा र समयमै परीक्षाफल प्रकाशनको मागसहित विभिन्न मागहरु राखेको विज्ञप्तिमा उल्लेख छ। तर जेठ २४ गते एमाले निकट अनेरास्ववियूले त्रिविमा नेविसंघले लगाएको ताला तोडिदिने चेतावनी दिएको छ।

नेविसंघले त्रिविमा ५ महिनादेखि लगाएको ताला तीन दिनभित्र खोलेर नियमित रुपमा पठनपाठन नगराए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने चेतावनी दिएको छ। त्यसपछि उत्पन्न परिस्थिति सामना गर्न आफूहरू तयार रहेको पनि अनेरास्ववियुले विज्ञप्ति मार्फत जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षणमा नै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको अखिलले आरोप लगाएको छ। ‘वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ,’ अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष सुनिता बरालले हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ’दुखद् पक्ष, यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ, प्राध्यापक वर्ग डर त्रासमा छन्, र विद्यार्थीहरु चिन्तित छन्। देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको तीन दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्नेछ, त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं। उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मावार स्वयं सरकार र सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहन्छौं।’

यता नेविसंघले पनि त्रिवि केन्द्रीय कार्यलयमा तालाबन्दी यथावत रहेको जानकारी दिँदै अन्यथा नेविसंघ सशक्त प्रतिकारमा उत्रने र उत्पन्न परिस्थितिको जिम्मेवारी उपकुलपति कार्यलय हुने चेतावनी दिएको छ । यसरी देशका प्रमुख राजनीतिक दलका विद्यार्थी नेताहरु ताला लाउन र खोल्नमा प्रतिस्पर्धा गरेपछि त्रिविमा विद्यार्थी नेताहरुबीच थप तनाव सृजना हुने सम्भावना बढेको छ।

के भन्छन् विद्यार्थी नेता ?

त्रिवि नेविसंघका सचिव योगेन्द्र रावलले अनेरास्ववियु जस्तो विद्यार्थी संगठनले वार्ता र संवादको बाटो छाडेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु गतल भएको बताएका छन्।
‘लामो समयसँगै शैक्षिक आन्दोलनको सहयात्री मित्र संगठन अनेरास्ववियुको पनि आफ्नै गर्विलो इतिहास छ। तर आज विद्यार्थीको जायज माग उठाउँदा त्रिविको उपकुलपतिसँग मिलेमतो गरि धम्काउनु भनेको लाखौँ विद्यार्थीको भविष्यसँग खेल्नु हो।’

रावलले भने, ‘हामीले गलत माग राखेका छैनौँ। विद्यार्थीको आवाज उठाउँदा सुनिता बराल नेतृत्वको अनेरास्ववियूले हामीसँग थप संवाद र वार्ता गर्नुपर्नेमा त्रिविमा पदाधिकारीसँग घुसपैठ गर्नु निन्दनीय छ। यो सरासर विद्यार्थीको अधिकार कुण्ठित गर्ने षडयन्त्र हो।’
ताला खोल्न हाम्रो समर्थन हुन्छ तर बारम्बार ताला

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बारम्बार त्रिविमा तालाबन्दी लाउनेलाई समर्थन गर्न सकिने भएका कारण आफूहरुले ताला खोलेर त्रिवि प्रशासनमा सहज वातावरण बनाउनेमा लागेको बताएकी छिन्।

विगत ५ महिना देखि त्रिविमा तालाबन्दी भएको कारण विश्वविद्यालय नै अस्तव्यत भएको उनको भनाइ छ। ‘हामी ताला खोल्ने भए वार्ता र संवाद पनि गर्न तयार छौँ। तर नेविसंघले विगत ५ महिना देखि तालाबन्दी भएको कारण विद्यार्थीको पठनपाठनमा असर पुगेको छ।प्राध्यापकहरु डर त्रासमा बसेका छन्।’

बरालले भनिन्, ‘उहाँको(नेविसंघ) को ठोस मागहरु पनि केही देखिँदैन। त्यसकारण हामीले (आइतबार) जेठ २९ गतेसम्म नेवसंघलाई ताला खालेर विश्वविद्यालय संचालन गर्ने समयसीमा दिएका छौँ। सो समयसम्म पनि खुलेन भने हामीले नै ताला खोलेर विश्वविद्यालयमा सहजता पूर्वक पढ्ने र पढाउने बतावरण मिलाउँछौ भनेका हौँ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *