जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल

डिसी नेपाल
२९ जेठ २०७९ ९:२४
92
Shares

लन्डन। कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन। तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ । तर, बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन्।

पेसेवर मार्शल कलाकारले एउटा औँलाले सबैभन्दा भारी सामान उठाउने यसअघिको विश्व कीर्तिमान तोडेका छन्। १० वर्ष पुरानो रेकर्डलाई उनले तोडेका हुन्।

उनले सन् २०२२ को फेब्रुअरीमा केन्टमा रेकर्डका लागि प्रयास गरे र आफ्नो दाहिने हातको बीचको औंलाले १२९.५ केजी उचाल्न सफल भए।

रेकर्डलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले स्वीकार गरेको छ । गिनिजले यसबारेमा आफ्नो आधिकारिक वेबसाइटमा पोस्ट गर्‍याे।

किलरको प्रयासमा ६ वटा फलामका डिस्कहरू समावेश थिए – एउटा १० केजी तौलको, अर्को २० केजी तौलको, तीन वटा प्रत्येक २५ किलोग्राम तौलको र एउटा २६ केजीभन्दा अलि बढी तौलको।

एउटा हुकलाई बीचमा पारेर डिस्कहरूलाई एउटा माथि अर्को गरेर राखिएको थियो । त्यसपछि उनले माँझी औँलाले हुकलाई उचालेका थिए।

‘यो अविश्वसनीय रूपमा पीडादायी छ, तर मेरा औंलाहरू बलिया छन् र मलाई मेरो लिफ्टमा गर्व छ’, किलरले गिनिज बुक अफ वर्ल्ड रेकर्ड वेबसाइटलाई भने। वेबसाइटका अनुसार ४८ वर्षीय किलर विगत चार वर्षदेखि शक्ति प्रशिक्षणको अभ्यास गरिरहेका छन्।

१८ वर्षको उमेरदेखि नै किलरले जुडो र कराँतेको अभ्यास गर्दै आएका छन्। विश्व कीर्तिमान बनाउने प्रयासमा यस अभ्यासले पनि उनलाई ठूलो सहयोग गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *