रूसी तेलबिना संकटमा परेपछि विवादित निर्णय गरेको अमेरिकालाई ठूलो झट्का
काठमाडौं । रुस–युक्रेन युद्धका कारण विश्वव्यापी तेल संकटको बीचमा अमेरिकाले निकै विवादित निर्णय गरेको थियो । अमेरिकाले भेनेजुएलाको तेल युरोपमा बेच्न बाटो खोलिदिएको थियो । यसका लागि उसले भेनेजुएलामाथि लगाइएका सबै प्रतिबन्धहरू अन्त्य गर्न सक्ने बताइएको थियो ।
अमेरिकाको यो निर्णयले उसको दोहोरो मापदण्डमाथि प्रश्न उठिरहेको छ । एकातिर उसले रुसी तेल आयात गर्न भारत र चीनलाई दबाब दिइरहेको छ । अर्कोतर्फ देशमा तेलको आपूर्तिका लागि त्यही भेनेजुएलाबाट तेल किन्दैछ जसमाथि उसले आफैंले सबै प्रकारका प्रतिबन्ध लगाएको थियो ।
अमेरिकाले भेनेजुएलालाई लगाएको प्रतिबन्ध फुकुवा गरेर उसलाई फकाउन खोजे पनि भेनेजुएलाले भने अमेरिकालाई ठूलो झट्का दिएको छ । इरान र भेनेजुएलाले शनिबार तेहरानमा २० वर्षे सहयोग योजनामा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा इरानका राष्ट्रपति इब्राहिम रइसी र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो सहभागी थिए । कार्यक्रम इरानको राजधानी तेहरानको सादाबाद प्यालेसमा भएको थियो । यो सम्झौता भएसँगै अब भेनेजुएलाको तेलमा इरानको प्रत्यक्ष प्रभाव हुनेछ ।
यो सम्झौतामा तेल, पेट्रोकेमिकलका अलावा रक्षा, कृषि, पर्यटन र संस्कृतिका क्षेत्र पनि परेका थिए । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाह र भेनेजुएलाका विदेशमन्त्री कार्लोस फारियाले पनि धेरै सम्झौतामा हस्ताक्षर गरेका छन् । नयाँ सम्झौताले भेनेजुएलाको रिफाइनरीको मर्मतका साथै प्राविधिक र इन्जिनियरिङ सेवाहरूको निर्यातलाई समेट्छ।
सम्झौताका क्रममा भेनेजुएलाले साम्राज्यवादी शत्रुहरूका प्रतिबन्ध र धम्कीप्रति ठूलो प्रतिरोध गरेको इरानका राष्ट्रपति रइसीले बताए। २० वर्षे सहकार्यका दस्तावेजमा हस्ताक्षरले दुवै देशले एकअर्कासँग सम्बन्ध विकास गर्न कत्तिको तीव्र इच्छा राखेका छन् भन्ने देखाउँछ।
रइसीले पछिल्लो ४० वर्षमा इरानमाथि प्रतिबन्धको धेरै धम्की आएको तर इरानले ती प्रतिबन्धलाई देशको प्रगतिको अवसरमा परिणत गर्ने काम गरेको बताए ।
भेनेजुएलाका राष्ट्रपति मादुरो २ दिने भ्रमणमा १० जुनमा तेहरान पुगेका थिए । यस भ्रमणमा उनीसँग राजनीतिक तथा आर्थिक प्रतिनिधिमण्डल पनि रहेको थियो । यसअघि उनले टर्की र अल्जेरियाको भ्रमण गरेका थिए ।
इरानले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै भेनेजुएलामा तेलका धेरै कार्गो पठाएको छ । भेनेजुएलाको रिफाइनरी मर्मत गर्न पनि इरानले सहयोग गरिरहेको छ । गत महिनादेखि भेनेजुएलाले ठूलो परिमाणमा इरानबाट कच्चा तेल आयात गर्न थालेको छ ।
मेमा, इरानको सरकारी स्वामित्वको राष्ट्रिय इरानी तेल इन्जिनियरिङ् र निर्माण कम्पनीले भेनेजुएलाको १ लाख ४६ हजार ब्यारेल-प्रति-दिन उत्पादन रिफाइनरी मर्मत गर्न १०० मिलियन यूरो सम्झौतामा हस्ताक्षर गर्यो।







डिसी नेपाल







Facebook Comment