१३० जनाको मृत्यु भएको पेरिस आक्रमणका दोषीलाई फ्रान्सको इतिहासकै सबैभन्दा कठोर सजाय
काठमाडौं । सन् २०१५ मा पेरिसका अलग अलग ठाउँमा हमला गर्ने समूहका एकमात्र जीवित आक्रमणकारीलाई आतंकवाद र हत्याको दोषी ठहर गरिएको छ।
सलाह अब्देस्लामलाई फ्रान्सको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाइएको छ । यस आक्रमणमा १३० जनाको मृत्यु भएको थियो । सलाहलाई यो अपराधमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
अदालतले यस मुद्दामा अन्य १९ जनालाई पनि दोषी ठहर गरेको छ । जसमध्ये ६ जना दोषीको मृत्यु भइसकेको बुझिएको छ ।
यो मुद्दाको सुनुवाइ आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्यो। गत वर्ष सेप्टेम्बरदेखि मुद्दामा सुनुवाइ चलिरहेको थियो।
विगत नौ महिनादेखि पीडित, पत्रकार र मृतकका आफन्तहरू मुद्दाको सुनुवाइ गर्न पेरिसको विशेष अदालतमा भेला हुने गरेका छन् । यो आक्रमण दोस्रो विश्वयुद्ध पछि फ्रान्सको इतिहासमा सबैभन्दा भयानक मानिन्छ।
नोभेम्बर १३, २०१५ मा, बार, रेस्टुरेन्ट, राष्ट्रिय फुटबल रंगशाला र एक संगीत स्थल लगायत फ्रान्सका विभिन्न स्थानहरूमा आक्रमणहरू भएका थिए। यस क्रममा सयौं घाइते भएका थिए ।
मुद्दाको सुरुमा, अब्देस्लामले आफूलाई इस्लामिक स्टेट चरमपन्थी समूहको “सिपाही” भनेर वर्णन गरे। यद्यपि, अब्देस्लामले पछि पीडितहरूसँग माफी मागे र अदालतलाई भने कि उनी हत्यारा होइनन् र हत्याको लागि सजाय दिनु अनुचित हुनेछ।
अब्देस्लामले आक्रमणको रात आफ्नो आत्मघाती ज्याकेट विष्फोट नगराउने निर्णय गरेको दाबी गरे। तर पछि अदालतमा पेश गरिएका प्रमाणबाट ज्याकेटमा खराबीको कारण विस्फोट नभएको पत्ता लागेको थियो ।
अब्देस्लाम आजीवन जेलमै बस्नुपर्नेछ । फ्रान्सको कानुनअनुसार अब उनहरूले ३० वर्षको जेल सजाय काटिसकेपछि मात्रै प्यारोलको लागि आवेदन दिन सक्छन् ।







डिसी नेपाल







Facebook Comment