शेखर कोइरालाको भेलामा गगन थापा सहभागी भएनन्
फाइल तस्विर
काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला सुरु भएको हो ।
कांग्रेसको १४औं महाधिवेशनमा शेखरकोइराला समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापा भने भेलामा सहभागी भएका छैनन् । यसअघि उनी शेखर कोइराला खेमामा थिए । यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिए । तर, बिहीबारको भेलामा भने सहभागी भएका छैनन् ।
भेलामा डा.कोइराला, डा.रामशरण महत, दिलेन्द्रप्रसाद बडू,जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।
यसैगरी, कांग्रेस केन्द्रीय समितिको बैठक दुई–दुई महिनामा बस्नुपर्ने व्यवस्था छ । तर, चैतयता कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्वमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको छ । यिनै विषयमा छलफल गर्न भेला बोलाएको कोइरालाले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment