बिपद् उद्धारमा सुरक्षाकर्मी अभ्यास, ३ जना बेपत्ता

डिसी नेपाल
१९ असार २०७९ १०:५१

पाँचथर। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तेह्रथुम र पाँचथरको सीमा तमोर नदीमा बिपद्मा कसरी जनताको सुरक्षा गर्ने अभ्यास गर्दै थिए, त्यही राति फालेलुङमा पहिरोले घर भत्काएर ३ जना बेपत्ता भए।

वर्षा सुरुसँगै पूर्वका बिकट र भू–बनोट कमजोर भएका स्थानमा निरन्तर पहिरोले घर बगाउने र पुर्ने समस्या हुन्छ। यस्तो समस्याबाट जनताको सुरक्षा गर्ने भन्दै सेना, प्रहरी र सशस्त्र प्रहरीले जनताको उद्धार गर्न अभ्यास गरे ।

उनीहरुले अभ्यास गरेकै राति फालेलुङ– ७ को बिदिनमा ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगायो। अनि उनका छोरा रुपलाल, बुहारी गोमा र भतिजी एलिसा बेपत्ता छन्। उनीहरुको खोजी जारी रहेको फिदिम– ४ मा रहेको सशस्त्र प्रहरीका डिएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिए।

जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अगुवाईमा सुरक्षाकर्मीहरुले विपद् व्यवस्थापनमा अभ्यास गरेका हुन्। सेनाको रणशेर गणका प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) सुरज राउत, सशस्त्रका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोरकुमार श्रेष्ठ र प्रहरी कार्यालयको समन्वयमा अभ्यास गरिएको प्रजिअ न्यौपानेले बताए।

तमोर किनारमा सशस्त्रको मुख्य संयोजनमा भएको अभ्यासमा पुलबाट डोरीको सहयोगमा खोलामा झर्ने, त्यहाँदेखि डुंगामा कीनारामा आउने, डोरीकै भरमा खोलो तर्ने, रुखका मुडाको सहयोगमा खोलो तर्नेसम्मका अभ्यास भएका थिए।

पाँचथरका समन्वय समिति सभापति रामराज आङदेम्बे, फिदिमका मेयर मित्रप्रसाद काफ्लेसमेतले यस्तो अभ्यासले नागरिकको उद्धारमा सुरक्षाकर्मी सफल बन्ने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *