सेनाले हस्तान्तरण गर्यो हावाडाँडा दोभानको १८ किमी सडक
काठमाडौं । नेपाली सेनाले गोरखा जिल्लास्थित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका–७ हावाडाँडादेखि सोही गाउँपालिका–३ स्थित दोभानसम्मको १८ किलोमिटर सडकको ट्र्याक निर्माण गरी आज हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभागअन्तर्गत ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।
विसं २०७३ मङ्सिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकूलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण उक्त सडकखण्डको ट्र्याक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई प्राप्त थियो ।
सेनाले विसं २०७४ वैशाख ११ गतेदेखि ट्र्याक खोल्ने कार्य सुरु गरेको हो । उक्त सडकखण्डको निर्माणपश्चात गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment