अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

डिसी नेपाल
२८ असार २०७९ १३:००
116
Shares

काठमाडौं। काठमाडौं, सर्लाही, बाँके, मोरङ, मकवानपुर र झापाबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित टहराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने तेह्रथुम सुङ्गनाम गाउँपालिका–४ घर भएका २६ वर्षीय दिपक तामाङ छन्। उनको कोठाबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त बौद्ध, बानेश्वर र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको संयुक्त प्रहरीले दिपकको कोठा जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतिहारी महाबिर नगर रक्सौल–१९ घर भएका १९ वर्षीय बिशाल कुमार छन्।

उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ४ सय ९७ एम्पुल डाइजेपाम, ४ सय ९७ एम्पुल फेनारगन, ४ सय ९७ एम्पुल नुफिन, २ हजार भारतीय रुपैयाँ र १ थान भारतीय आधार कार्ड बरामद गरेको छ।

सर्लाहीको कोडैना गाउँपालिका–२ बस्ने २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका–२ बस्ने ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरेलाई नियन्त्रित लागूऔषध सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकलमा सवार रितेशलाई लालबन्दी नगरपालिका–१ नवलपुर चोकबाट १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट सहित र बिजय कुमारलाई ९० बोतल डाईलेक्स डिसी सहित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।

बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरी बस्ने ३३ वर्षीया खगिसरा सुनारलाई करिब ५ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले खगिसराको घर तलासी गर्दा ९ वटा प्लास्टिकको पुरियामा रहेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ फिलिमहल लाईनबाट करिब ३ ग्राम २५ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय दिपेश शर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दिपेशको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० प्रकाश होटेल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ पुरानो मकवानपुर बस्ने ४८ वर्षीय उज्वल मानन्धर र सोही उपमहानगरपालिका–१० राम मन्दिर बस्ने ३६ वर्षीय रंजित आले मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उज्वलको साथबाट करिब १ सय मिलीग्राम र रंजितको साथबाट करिब ४० मिलीग्राम खैरो हेरोईन फेला पारी दुवैजनालाई पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट करिब १३ ग्राम अवैध लागूऔषध हिरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मेची नगरपालिका–१० बस्ने ३१ वर्षीय प्रदिप आले मगर र सोही नगरपालिका–८ चौधरी टोल बस्ने २० वर्षीय प्रशन्न राजवंशी रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.