सेनाको जहाज चढेर माल्दिभ्स भागे श्रीलंकाका राष्ट्रपति, आज राजीनामा दिनुपर्ने थियो
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आर्थिक संकटलाई लिएर व्यापक विरोधका बीच सैन्य जेट चढेर देश छोडेका छन्। ७३ वर्षीय गोटाबाया राजापाक्षे स्थानीय समय अनुसार बुधबार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले आइपुगेको बीबीसीले जनाएको छ ।
राजापाक्षे पलायन भएपछि श्रीलंकामा दशकौंदेखिको एक परिवारको शासनको अन्त्य भयो। शनिबार श्रीलंकाका आम जनताले राष्ट्रपति भवनमा हमला गरे र गोताबाया राजपक्षे लुक्न बाध्य भए। गोटबायाले आज जुलाइ १३ मा राजीनामाको घोषणा गरेका थिए ।
गोटाबाया राजापाक्षेका भाइ तथा पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको स्रोतले बीबीसीलाई बताएको छ । बासिल अमेरिका जाने चर्चा छ ।
राष्ट्रपति फरार भएको खबर आएपछि गाले फेस ग्रीनमा मानिसहरूले उत्सव मनाए । गाले श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनको मुख्य स्थान हो। राष्ट्रपतिको राजीनामाको पर्खाइमा मंगलबार साँझ गाले पार्कमा हजारौंको संख्यामा भेला भएका थिए।
श्रीलंकाका जनताले देशको आर्थिक विनाशको लागि राजापाक्षे शासनलाई जिम्मेवार ठान्छन्। श्रीलंकाले दशकयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । महिनौंदेखि, श्रीलंकाका जनता दैनिक बिजुली कटौती, अत्यावश्यक तेल, खाद्यान्न र औषधिको अभावको सामना गरिरहेका छन्।
नयाँ प्रशासनले उनलाई पक्राउ गर्न नसकोस् भनेर राष्ट्रपति गोटाबायाले राजीनामा दिनुअघि नै देश छाड्न चाहेको बताइएको छ । उनी राष्ट्रपति पदमा रहँदा उनलाई पक्राउ गर्न सकिँदैन ।
राष्ट्रपति भागेपछि श्रीलंकाको शासनमा कोही नआउने खतरा पनि महसुस भइरहेको छ । श्रीलंकालाई आर्थिक संकटको समाधान खोज्ने सरकार चाहिन्छ।
गठबन्धन सरकार गठनका लागि अन्य दलका नेताहरु छलफलमा छन् तर अहिलेसम्म सहमति हुन सकेको छैन । जनताले नयाँ सरकारलाई स्वीकार गर्ने कि नमान्ने भन्ने टुंगो छैन ।
राष्ट्रपतिको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकारको प्रयोग गर्ने संवैधानिक व्यवस्था छ । संसदमा प्रधानमन्त्रीलाई राष्ट्रपतिको उपप्रमुखको रुपमा देखाइनेछ ।
यद्यपि विक्रमासिङ्घे पनि श्रीलंकामा निकै अलोकप्रिय छन् । शनिबार प्रदर्शनकारीले विक्रमासिङ्घेको निजी निवासमा पनि आगजनी गरेका थिए । विक्रमासिङ्घेको परिवार घरमा थिएन ।
विक्रमासिंघेले गठबन्धन सरकारका लागि राजीनामा दिन तयार रहेको बताएका छन् । तर, उनले मिति भने दिएका छैनन् ।
श्रीलंकाका संविधान विज्ञहरूले संसदको सभामुख आगामी कार्यवाहक राष्ट्रपति हुन सक्ने बताएका छन् । तर महिन्दा यापा अभयवर्देन राजपाक्षेका सहयोगी हुन् त्यसैले जनताले उनलाई स्वीकार गर्ने कि नमान्ने भन्ने अझै स्पष्ट छैन ।
जो कार्यवाहक राष्ट्रपति भए पनि ३० दिनभित्र संसदका सदस्यहरूमध्येबाट राष्ट्रपति निर्वाचित हुनुपर्नेछ । यसमा जो पनि निर्वाचित हुन्छ, उनी सन् २०२४ सम्म राजापाक्षेको कार्यकालसम्म राष्ट्रपति रहनेछन् ।
सोमबार प्रमुख विपक्षी नेता सजित प्रेमदासाले बीबीसीलाई आफू राष्ट्रपतिको उम्मेदवार हुनसक्ने बताए । तर जनताको साथ र समर्थन रहने कि नरहनेमा शंका छ ।
श्रीलंकामा नेताहरूप्रति आम जनतामा विश्वासको ठूलो कमी छ। आम जनआन्दोलनले श्रीलंकालाई परिवर्तनको छेउमा ल्याएको छ, तर देशमा नेतृत्वका लागि स्पष्ट दावेदार छैनन्।







डिसी नेपाल







Facebook Comment