उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी दर्ता
काठमाडौं। नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन्।
भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । सोहीअनुसार कांग्रेस नेतृ भुसालले मनोनयन दर्ता गरेकी हुन्।
भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी छिन्। प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन।
दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ। यो संसदको कार्यकाल मात्र चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन। संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ।







डिसी नेपाल








Facebook Comment