प्रजातन्त्रको तानाशाह ‘टाउको’

दामोदर नेपाल
३० असार २०७९ १२:१४

काठमाडाैं। बुधबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा रोचक दृश्य देखियो। गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस कमजोर हुने भएकोले कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने तर्क गर्ने केन्द्रीय सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले थर्काए।

उनले गठबन्धनको विरोध गर्नेहरुलाई घुर्की देखाउँदै भने ‘मलाई धेरै नजिस्काउनुस्। गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ। यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु।’

देउवाको यो भनाइ घुर्की मात्रै हुन सक्छ। किनकि कांग्रेसको विधान संशोधन गर्नका लागि या त पार्टीको केन्द्रीय महाधिवेशन आयोजना गरिनुपर्छ जसले बहुमतले विधान संशोधन गर्न सक्छ।

वा पार्टीको केन्द्रीइ महासमितिले विधान संशोधन गर्न सक्छ तर महासमितिले विधान संशोधन गर्न सम्पूर्ण महासमिति सदस्यको दुई तिहाइ बहुमत चाहिन्छ। कांग्रेसको महाधिवेशनका लागि तल्लो तहबाटै प्रतिनिधि निर्वाचित हुनुपर्ने व्यवस्था रहेकोले तत्काल त्यो सम्भव देखिँदैन। महासमितिमा पनि देउवा पक्षको दुई तिहाइ बहुमत होला भनेर सजिलै पत्याउन सकिन्न।

देउवा अहिलेको सत्ताधारी गठबन्धन कायमै राख्न जेसुकै गर्न तयार छन्। कांग्रेसकै कतिपय नेताहरु सभापति देउवा यो गठबन्धन कायमै राख्नका लागि ‘सती’ जान तयार रहेको टिप्पणी गर्छन्।

अहिले परिस्थिति यस्तो बनिसकेको छ कि देउवा आफ्नै पार्टीका नेताहरुको कुरा सुन्दैनन्। गठबन्धनको विरोध गर्नेहरुको हुर्मत लिन्छन्। तर, माओवादी अध्यक्ष प्रचण्डको कुरा सुन्छन् र मान्छन् पनि।

एमालेलाई भित्तामा पुर्‍याउनकै लागि गठबन्धनका लागि मरिहत्ते गरेका देउवाको चुनाबपछि दुईवटा रणनीति हुन सक्छन्। पहिलो, सकेसम्म पत्नी आरजुलाई चुनाब जिताउने र पार्टीको संसदीय दलको नेता बनाइ प्रधानमन्त्रीको लाइनमा अगाडि बढाउने।

एक वर्षअघि सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री बनेका थिए। यो एक वर्षको अवधिमा देउवा नेतृत्वको सरकारले गरेका कामहरु र भएका विवादहरु हेर्दा यो गठबन्धन सत्ताको लागि बाहेक अरु कुनै उद्देश्यले बनेको थियो भन्न सकिने ठाउँ देखिएन।

सत्तामा पुगेर त्यसको चरम दुरुपयोग बाहेक यो सरकारले अरु केही गर्न सकेको देखिएन। र, अहिले पनि गठबन्धनको विरोध गर्नेहरुको हुर्मत लिने काम हुनु भनेको फेरि पनि मिलेर सत्तामा जाने नै हो।

अहिले देउवा वा यो गठबन्धनको प्रमुख र एकमात्र विपक्षी भनेको एमाले हो। गठबन्धन गरेर गएपछि अरु जे भए पनि एमालेलाई हराएर गठबन्धनलाई जिताउन सकिन्छ भन्ने देउवाको बुझाइ छ।

उनलाई लागिरहेको छ गठबन्धनभित्रको ठूलो दल कांग्रेस हुनेछ र त्यही आधारमा आफू फेरि प्रधानमन्त्री बन्न पाइनेछ। उनले निर्वाचनपछिको सरकार बनाउने क्रममा पनि गठबन्धनभित्रका दलहरुले आफूलाई सहयोग गरिरहनेछन्।

देउवा स्वार्थी छन् र आत्मकेन्द्रित छन्। यो धेरैले पहिलेदेखि नै बुझेको कुरा हो। ५ वर्षअघि बाम गठबन्धनले झण्डै २ तिहाइ बहुमत ल्याउँदा कांग्रेस नराम्रोसँग पराजित भएको थियो । तर, देउवाले त्यसको नैतिक जिम्मेवारी लिएनन्। उल्टै उनले पार्टीका उम्मेदवारहरुलाई नै थर्काए।

उतिबेला देउवाले पार्टीका उम्मेदवारहरुलाई ‘आफूले चुनाब हार्ने र पार्टीलाई दोष दिने ?’ भन्दै थर्काएका थिए । नेतृत्वमा रहेर पार्टीको हारको जिम्मेवारी नलिनु र उल्टै आफूभन्दा तल्लो तहका नेताहरुको टाउकोमा दोष थोपर्नु भनेको तानाशाही प्रवृत्ति हो । र अहिलेसम्म नेपाली कांग्रेसको टाउकोमा त्यही तानाशाही प्रवृत्ति हावी छ।

अहिले पनि देउवाको दिमागमा एउटै कुरा घुमिरहेको छ-निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने। नेपालमा अहिले दलीय मत यसरी विभाजित छ कि एक्लै निर्वाचनमा जाने हो भने कुनै पनि दलको बहुमत आउँदैन। यस्तोमा सरकार बनाउन गठबन्धन गर्नै पर्छ।

अहिले गठबन्धन भत्काएर निर्वाचनपछि गठबन्धन गर्ने विकल्प रोज्ने हो भने निर्वाचनमा एमालेले धेरै सिट ल्याउन सक्छ भन्ने देउवाको बुझाइ छ। देउवाले अहिले नै गठबन्धन गरेर जाँदा एमालेले जित्ने केही सिटहरुमा गठबन्धनले जित्ने र ती सिटहरु गठबन्धनका पार्टीहरुबीच बाँडिने बुझेका छन्।

एमालेलाई भित्तामा पुर्‍याउनकै लागि गठबन्धनका लागि मरिहत्ते गरेका देउवाको चुनाबपछि दुईवटा रणनीति हुन सक्छन्। पहिलो, सकेसम्म पत्नी आरजुलाई चुनाब जिताउने र पार्टीको संसदीय दलको नेता बनाइ प्रधानमन्त्रीको लाइनमा अगाडि बढाउने।

देउवालाई उनका कुनै शुभचिन्तकले सम्झाइदिनुपर्छ कि ‘बाच्छो खानेले पाडो बाँकी राख्दैन।’ प्रधानमन्त्री वा पार्टीको शक्तिशाली अध्यक्ष बन्न नपाएको झोंकमा केपी ओलीलाई सत्ताच्युत गर्नका लागि जुनसुकै हदसम्म जान सक्नेले उनलाई बाँकी राख्लान्?

यदि पत्नीलाई अगाडि बढाउने बाटोमा कुनै अवरोध आयो भने आफैं प्रधानमन्त्री बन्ने। अहिले कांग्रेसभित्र देउवाको उत्तराधिकारीको रुपमा देखिएकी आरजु मात्र हुन्। देउवाले उनलाई अघिल्लो निर्वाचनमै अगाडि बढाउने प्रयास गरेका थिए । तर, अघिल्लो पटक आफैंले जितेको क्षेत्रमा पत्नीलाई जिताउन नसकेपछि उनको योजना तुहिएको थियो।

अघिल्लो पटक नै पत्नीलाई प्रधानमन्त्रीको लाइनमा राख्न चाहेका देउवाको योजना आरजुले चुनाब हारेपछि विफल भएको थियो। यस पटक त्यही योजनालाई सार्थकता दिनका लागि पनि उनले गठबन्धनका लागि मरिहत्ते गरेका हुन सक्छन्।

किनकि गठबन्धनभित्र उनलाई यसो गर्नका लागि बाटो खुलिसकेको छ। स्थानीय निर्वाचनमा छोरी रेणुलाई जिताउन प्रचण्डले जसरी गठबन्धनलाई फकाउनेदेखि घुर्की लगाउने सम्मका काम गरे त्यसबाट देउवाको बाटो सहज भएको छ। अब आरजुलाई जिताउनका लागि देउवाले प्रचण्डकै रणनीति अपनाउन सक्छन्।

यो गठबन्धन अहिलेसम्म जसरी अगाडि बढिरहेको छ निर्वाचनपछि पनि त्यसरी नै अगाडि बढ्छ भन्ने भ्रममा देउवा छन्। उनलाई लागिरहेको छ कि प्रचण्ड, माधव नेपालहरुले उनलाई निर्वाचनपछि पनि साथ दिइरहने छन्।

यहाँनिर देउवालाई उनका कुनै शुभचिन्तकले सम्झाइदिनुपर्छ कि ‘बाच्छो खानेले पाडो बाँकी राख्दैन।’ प्रधानमन्त्री वा पार्टीको शक्तिशाली अध्यक्ष बन्न नपाएको झोंकमा केपी ओलीलाई सत्ताच्युत गर्नका लागि जुनसुकै हदसम्म जान सक्नेले उनलाई बाँकी राख्लान्?

मुखमा चुनाब छ, आफ्नो पार्टीको संगठन बलियो छैन। त्यसैले त प्रचण्ड, माधव नेपालहरु देउवासँग गठबन्धनको नाममा टाँसिएर बसेका छन्। चुनाबमा यता-उताको भोट तानतुन पारेर केही थान सांसद पाइसकेपछि पनि उनीहरु यसैगरी चुप लागेर बस्लान्?

एउटै पार्टी हुँदा त केपी ओली विरुद्ध हदैसम्म जान पछि नपर्नेहरुका लागि देउवा त एउटै पार्टीका समेत होइनन् । चुनाब भइसकेपछि अर्को चुनाबसम्म ५ वर्षको समय हुन्छ। त्यो अवधिमा त आफ्नै पार्टीको संगठन बलियो बनाउन सकिन्छ।

५ वर्षमा संगठन बलियो बनाउँदै जाने रणनीति उनीहरुले पक्कै लिनेछन् । संगठन बलियो बनाउन स्रोत र साधन चाहिन्छ। त्यो स्रोत र साधन जुटाउनका लागि पनि आफैं सत्तामा नगइ हुँदैन।

प्रधानमन्त्री बनिसकेकाहरु अब तल झरेर देउवाको नेतृत्वमा मन्त्री बनेर सरकारमा जाने कुरा भएन। यस्तो अवस्थामा बाँकी विकल्प भनेको आफैं प्रधानमन्त्री बन्ने हो । त्यसको लागि देउवालाई उत्तानो पारिदिनुपर्ने अवस्था आएमा त्यो विकल्प प्रयोग गर्न कसैले रोक्न सक्ने अवस्था देखिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *