शहरमा बालेनको डोजर

डिसी नेपाल
२६ भदौ २०७९ ६:३२

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो ।

मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ फिल्ड’मा खटिएका थिए ।

काठमाडौं मल अगाडि डोजर चलेको दोस्रो दिन गत ९ भदौमा नयाँ बानेश्वरस्थित अल्फाबिटा अगाडि पनि यस्तै दृश्य देखियो । सुरुमा बालेनसहितको टोली त्यहाँ निरीक्षणमा पुग्यो । विवादको केही छिनपछि नक्सासहित बालेन अघिअघि पुगे भने पछिपछि डोजर । ढिलै नगरी डोजर नक्साविपरीतका संरचना भत्काउन थाले । यी केही उदाहरण मात्र हुन् ।

महानगरपालिकाले एक महिनायता सयभन्दा बढी ठाउँमा अनधिकृत संरचना हटाउन डोजर चलाइसक्यो । महानगर प्रमुख (मेयर)मा बालेनको उदयपछि ‘अनधिकृत संरचना हटाउने’ अभियान नै चलेको छ । यो अभियान जारी रहने जनाउँदै महानगरले ‘जे प्रयोजनका लागि नक्सा पास भएको हो, त्यसअनुसार हुनुपर्ने’मा सचेत गराउँदै आएको छ । सुरुमा अनधिकृत संरचना हटाउन बालेन आफैं फिल्डमा खटिए ।

उनको निर्देशनअनुसार पछिल्लो दिन महानगर टोलीले ‘अनधिकृत संरचना हटाउने अभियान’लाई निरन्तरता दिएको छ । अब त यो अभियानलाई ‘बालेनको डोजर’को संज्ञा नै दिन थालिएको छ । गत २३ साउनमा ‘नियम सबैलाई लागू हुन्छ, नक्सा पासबिना बनाइएको संरचना हटाइन्छ’ भन्दै बालेन थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पुगेका थिए ।

कर्मचारीसहित पुगेका उनी नर्भिक अस्पतालका केही भूभागमा ‘नियमविपरीत निर्माण भएका घर/टहरा हटाउने’bout’ लिखित सूचना टाँसेर फर्किए । दोस्रो दिन संरचना हटाउन पुगेका उनले म्याद दिएर फर्किए । पछि, सर्वोच्चले ‘सो संरचना नहटाउन अल्पकालीन आदेश’ दियो । एकपछि अर्को ‘एक्सन’ बालेनले महानगरभित्रका ठूला भवनको अवैध संरचना हटाउने कार्यलाई पहिलो प्राथमिकता दिएका छन् ।

महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभाग भवनको बेसमेन्ट खाली गराइसकेको छ । ‘पार्किङका लागि’ भनेर नक्सा पास गरेकामा अन्य प्रयोजनका लागि प्रयोग भएको पाइएपछि बेसमेन्ट खाली गराइएको हो । नयाँ बानेश्वर क्षेत्रका भवन अवलोकन गरी अवैध रूपमा बनाइएका संरचना र अवैध रूपमा ‘अन्डर ग्राउन्ड’मा व्यवसाय सञ्चालन गरिएका घरमा महानगरले एक्सन लिइसकेको छ । गत २ साउनमा काठमाडौं महानगरले नयाँ बानेश्वरका ठूलाठूला भवनका ‘अन्डर ग्राउन्ड’ पार्किङ खाली गर्न निर्देशन दिएको थियो ।

पार्किङ गर्न भनी नक्सा पास गराई व्यवसाय सञ्चालन गर्न नपाइने सूचना महानगरले व्यापारी र घरधनीलाई दिएको थियो । तर, ३५ दिन कट्दा पनि घरघनीहरूले बेवास्ता गरेपछि बालेन आफैं बानेश्वर पुगेका थिए । बानेश्वर कम्प्लेक्समा बालेनले अन्डरग्राउन्ड पार्किङ खाली गर्न भत्काउनै निर्देशन दिए ।

महानगरले डोजर चलाएरै न्युरोडस्थित आरबी कम्प्लेक्स अगाडिको संरचना पनि भत्काएको छ । मेयर बालेनले दरबारमार्ग पुगेर नक्सा पासबिना संरचना बनाइएको भएमा तुरुन्तै हटाउन निर्देशन दिएका थिए । मेयर साहले कानुन सबैलाई बराबरी लाग्ने भन्दै काठमाडौं जिल्ला अदालतलाई पनि समय दिएको बताएका छन् ।

महानगरका अनुसार अदालतलाई नक्सासम्बन्धी विवरण उपलब्ध गराउन भनिएको छ । महानगरको टोलीले बालाजु क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । यस्तै, टुकुचा खोला किनार क्षेत्रका नक्सा पास नभई निर्माण भएका संरचना हटाउन सूचना जारी गरिसकेको छ ।

सात वर्षदेखि कर तिर्न बेवास्ता गर्दै आएको भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले महानगरको २४ घण्टे अल्टिमेटमपछि करिब साढे १७ लाख रुपैयाँ कर बुझाएको छ । महागरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको हो । महानगरपालिको नेपाली सेना, विद्युत् प्राधिकरण लगायतका दर्जनौं निकायलाई कर तिर्न सूचनासमेत जारी गरिसकेको पाइएको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *