अमेरिकाभरका ३८ नेपालीभाषी फुटबल टीमबीच प्रतिष्पर्धा हुँदै, जित्ने युवा टीमले १५ हजार डलर पाउने
ओहायो । अमेरिकावासी नेपालीभाषी समुदायका अमेरिकाभरका ३८ वटा फुटबल टीमबीच अमेरिकाको ओहायो राज्यको सिनसिनाटी शहरमा रोचक प्रतियोगिता हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर तथा सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सेप्टेम्बर २३ देखि शुरु हुने सो प्रतियोगितामा युवा पुरुष समूहतर्फ २६ टीम, भेट्रानतर्फ ८ टीम र महिलातर्फ ४ टीमले सहभागिता जनाउने भएका छन् । फाउण्डेसनका अध्यक्ष समाजसेवी डिल्ली अघिकारीले सेप्टेम्बर २३ मा उद्घाटन गर्ने सो प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया,नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्यका खेलाडीहरु सहभागी छन् । यसवाहेक अमेरिकाको छिमेकी मुुलुक क्यानडाबाट समेत एउटा टिमले सहभागिता जनाएको आयोजक संस्थाले जनाएको छ । सबै खेलाडीहरु नेपालीभाषी समुदायका हुन् ।

अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीभाषी भुटानी अमेरिकी समुदाय तथा नेपाल र अन्य मुलुकबाट पनि अमेरिकामा स्थायी वसोवास गरिरहेका नेपालीभाषी समुदायको उत्साहजनक सहभागिता रहेको यो प्रतिष्पर्धाको फाइनल खेल सेप्टेम्बर २५ मा सिनसिनाटी शहरमै हुने तय भएको छ । फाउण्डेसनका प्रवक्ता केशव आचार्यले आफ्नो समुदायका युवा युवतीहरुमा ‘स्पोर्टस्मेनसिप’ भावनाको विकास गरी समुदायका युवाहरुलाई जागरुक बनाइराख्ने उद्देश्यले फाउण्डेसनले विभिन्न खेलकुदका कार्यक्रमहरु निरन्तर आयोजना गरिरहेको बताए । उनले भने, ‘खेलले व्यक्तिगत जीवनलाई स्वस्थ र अनुशासित राख्न सघाउने हुंदा समुदायका युवा युवतीहरुलाई लागूऔषधजस्ता लतमा लाग्न नदिई उनीहरुलाई जोगाउन पनि मद्धत गर्ने विश्वास लिएका छौं ।’
प्रतियोगिताका संयोजक राजन चुहानले ३५ बर्षमाथिको उमेर समूहका पुरुष खेलाडीहरुको भेट्रान टीम र महिलाहरुको टीमका बीचको प्रतिष्पर्धा लिग र नकआउटका माध्यमबाट गराइने बताए । उनका अनुसार, युवा टीमका बीच भने नकआउट प्रतिष्पर्धा गराइने छ ।

यी प्रतिष्पर्धाका लागि फाउण्डेसनका अध्यक्ष डिल्ली अघिकारीले निकै ठूलो पुरस्कार राशीको घोषणा गरेका छन् । युवाहरुको २६ टीमका बीचको प्रतिष्पर्धाबाट प्रथम हुने टीमले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । युवातर्फ दोस्रो हुने टीमका लागि ८ हजार अमेरिकी डलर पुरस्कार दिइने छ । त्यसैगरी भेट्रानतर्फ प्रथम हुने टीमलाई ८ हजार, दोस्रो हुने टीमलाई ६ हजार र तेस्रो हुने टीमलाई २ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिइने छ भने महिलातर्फ प्रथम हुनेलाई ७ हजार ५ सय तथा उपविजेता टीमलाई ५ हजार अमेरिकी डलरको पुरस्कार दिइने छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment