आज औँसी श्राद्ध र पितृ विसर्जन, भोलिदेखि नौरथा सुरु

डिसी नेपाल
९ असोज २०७९ ६:२६
176
Shares

काठमाडाैं। हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ। सोह्र श्राद्ध सकिएसँगै भोलिबाट बडादशैको नौरथा सुरु हुँदैछ। यस वर्ष घटस्थापनाको शुभ साइत असोज १० गते बिहान १०.२३ बजे रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्व पितृ मोक्ष औँसी भनिन्छ। यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

पितृ मोक्ष औँसीका दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने लोक चलन छ। यस दिनमा श्राद्ध गर्दा सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता छ।

शुक्ल पक्ष वा कृष्ण पक्ष जुनसुकै तिथिमा आफन्तहरू बितेका भए पनि प्रतिपदादेखि औँसीसम्मका पन्ध्र दिनमा गरिने श्राद्धलाई पितृ मोक्ष औँसीमा श्राद्ध गर्न सकिन्छ । पूर्णिमा तिथिमा गर्नुपर्ने श्राद्ध पनि यसै औँसीमा गर्ने परम्परा छ।

हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ। पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँसीका दिन श्राद्ध गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *