मोबाइलको लतले विद्यार्थीको पढाइमा रूचि घट्दै, अभिभावक तनावमा

सुधा देव
१० असोज २०७९ ७:१४
40
Shares

सप्तरी। राजविराज नगरपालिका-४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई यतिबेला मर्नु न बाँच्नु भएको छ। विवाह भएदेखि जहिले पनि श्रीमान्बाट पीडित हुँदै आएकी आशाको आशा र भरोसा उनको एक छोरा थियो। श्रीमान् सधैँजसो रक्सी खाएर हिंसा गर्थे।

उनले स्थानीय एक निजी विद्यालयमा शिक्षिकाको काम थालिन्। छोरालाई पढाउन थालिन्। उनले छोराको उज्ज्वल भविष्यको सपना बुन्न थालिन्। छोरा पनि कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो। कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो। जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन।

कोरोनाको पहिलो लहरमा नौ महिनासम्म भएको विद्यालय बन्दका कारण छोरा मोबाइलको लतमा लाग्यो। मोबाइल र साथीहरूसँग व्यस्त भई पढाइप्रति ध्यान दिन छाड्यो। कक्षा ६ मा अध्ययनरत छोरा कक्षामा १५ औँ स्थानमा पनि आउन सकेन।

छोराको बिग्रँदो भविष्यप्रति चिन्तित परियारले दुखेसो पोखिन्, ‘‘छोरा गतिलो भएर सुख पाउने आशमा बसेको त त्यो आशा पनि कोरोना र मोबाइलले खोसेर लगेको छ। अब कसको सहयोग पाउने आशामा म बाँच्नु ? मेरो जिन्दगी नै अन्धकार हुने भयो।”

राजविराज नगरपालिका वडा नं ६ खर्साल टोलकी ३९ वर्षीया अनिता यादव पनि छोरा लेखपढमा भन्दा मोबाइल चलाउनमा व्यस्त हुन थालेपछि निकै चिन्तित हुन थालेकी छन्। जिल्लाकै एउटा गैरसरकारी संस्थामा कार्यरत उनी छोराको भविष्य अन्धकारतर्फ जानलागेको चिन्ताले सताएको छ। उनले भनिन्, ‘‘छोरा कक्षा ९ मा पढ्छ। एकछिन मोबाइल नभई हुँदैन। लत जस्तै भएको छ।”

छोरालाई भोकभोकै बसेर भए पनि मोबाइल चलाउन पाए पुग्ने भएको बताइन्। उनले भनिन्, “अहिले मोबाइल चलाउने बेला भएको छैन, पढ्ने बेला हो। राम्ररी पढ्यौ भने भविष्य उज्ज्वल हुन्छ भन्दा पनि बुझ्दैन।” छोराको भविष्यको चिन्ताले त कति रात निदाउन नसकेको उनको अनुभव छ।

राजविराज नपा वडा नं २ राजदेवी टोलकी कक्षा ६ मा अध्ययनरत जीया चौधरी,वडा नं ६ लिलजा टोलकी कक्षा १० की मुनु चौधरी लगायतका विद्यार्थीहरूमा मोबाइलको लत लागेको छ।

चिन्तित अभिभावक, शिक्षक

छोराछोरी, नातिनातिनाहरूमा बढ्दो मोबाइलको लतलाई लिएर आमाबाबु, हजुरआमा हजुरबाबुहरू निकै चिन्तित हुनथालेका छन्। परिवारमा तनाव भएर घरको माहोल बिगार्ने कामसमेत हुन थालेको छ। छोरीको मोबाइल कुलतबाट आजित रमेश चौधरी भन्छन्-जतिबेला पनि मम्मीको मोबाइल उनको हातमा हुन्छ। फोन गर्न माग्यो भने दिन मान्दैन। गाली गरेर मोबाइल माग्यो भने रिसाएर घरबाट निस्किदिन्छ।

विष्णुपुर गाउँपालिका वडा नं. ३ हाटीकी संजु यादवलाई पनि कक्षा ८ र ९ मा पढ्ने छोराछोरीको मोबाइलको लत देखेर विरक्त लाग्ने गरेको छ।  उनले भनिन्, “मोबाइल एकदमै आवश्यक छ तर जतिबेला पनि मोबाइल हातमा बोक्ने कुरा होइन। नत दराजभित्र थुन्ने नै चिज हो ।एकछिन छोड्यो कि हातमा आउनै गाह्रो।”

मोबाइल पाएपछि के के न पाए जस्तो गरेर आफ्नो जिम्मेवारी र कर्तव्य बिर्सेर अधिकार मात्र खोज्न थालेको दुखेसो यादवको छ ।

राजगढ गाउँपालिकाको कमलपुरस्थित श्री खुमनाथ जगरनाथ शक्ति आधारभूत विद्यालयका शिक्षक श्यामप्रित मण्डलले अहिले विद्यार्थीहरूको सबैभन्दा लोकप्रिय वस्तु मोबाइल भएको उल्लेख गर्दै मोबाइलको गलत प्रयोगले बालबालिका र युवामा नकारात्मक असर परिरहेको बताए।

उनले भने, “वाइफाई, इन्टरनेट पहुँच नभएको ठाउँभन्दा पहुँच भएको ठाउँका अधिकांश परिवारका युवा तथा बालबालिकाहरू धेरैभन्दा धेरै समय मोबाइलमा अनावश्यक समय खर्च गर्न थालेपछि पढाइमा कमजोर भइरहेका छन् ।”

विद्यार्थीहरू पढाइमा कमजोर भएका विद्यार्थीहरूमध्ये एक हुन्, राजविराज नगरपालिका वडा नं. १ चनौराकी बिनिता रजक । रजक २०७९ को एसइई परीक्षामा गणित विषयमा अनुत्तीर्ण भइन् । मोबाइलमा धेरै समय खर्चिनाले उनको पढाइमा समेत असर गर्‍यो।

उनले भनिन्, “कोरोनाको समयमा लामो समय विद्यालय बन्द थियोे । काम नभएपछि मोबाइल हेर्न धेरै समय दिन्थेँ । अहिले लत जस्तै भएको छ । एक दिन खान नदिँदा केही लाग्दैन । दुई घण्टा मोबाइल नहेरी सक्दिनँ ।”

रजकको मोबाइलमा युट्युबमा कमेडी भिडियोहरू हेर्ने बानी बसेको छ । उनको अनुभवमा कक्षामा पढाइ चलिरहँदा पनि केटाकेटीहरू च्याटिङ् हुन्छन् । पढाइतिर ध्यान दिँदैनन् ।

राजविराजस्थित केशो अनुरूद्धवती माध्यमिक विद्यालयका विज्ञान शिक्षक निलम मिश्राका अनुसार, कोरोनाकाल सुरु भएपछि दुई वर्षयता मोबाइल प्रयोग गर्ने विद्यार्थीको सङ्ख्या हवात्तै बढेको बतेको छ । उनको अनुभवमा विद्यार्थीहरूले घरमा बढी समय र विद्यालयमा लुकीछिपी मोबाइल चलाउँदै आएका छन्।

विद्यार्थीहरूले मोबाइलबाट केही सिक्नुभन्दा त्यसको अनावश्यक रूपमा प्रयोग गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले भनिन्, “विद्यार्थीहरूमा मोबाइलको लत बढेपछि,सही सदुपयोग हुन नसकेपछि विद्यार्थीहरूको शैक्षिक स्तर घट्नु अहिलेको सबैभन्दा चुनौती र चिन्ताको विषय बनेको छ ।”

यसरी फस्दैछन् मोबाइलको लतमा बालबालिका

खासगरी शिक्षित अभिभावक होस् वा अशिक्षित,सबै आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहन्छन् । अचेल उनीहरू एकैछिन फुर्सत पाउनेबित्तिकै मोबाइल हातमा लिएर सामाजिक संजालमा व्यस्त भै हाल्छन्। आजको मान्छेले जीवनमा सबैभन्दा धेरै समय बिताउने साधन मोबाइल बनेको छ।

अधिकांश अभिभावकले धेरै काम मोबाइलबाट गर्ने गरेका छन्। बालबालिकाले घरमा अधिकांश समय आमाबाबुले मोबाइल चलाएको हेरिरहेका हुन्छन् । उनीहरूले आमाबाबु वा घरको अन्य सदस्यले बानीव्यहोराबाटै धेरै कुरा सिकिरहेका हुन्छन्।

ससाना बालबालिकालाई अल्झाउन, सजिलै र छिटोखाना खुवाउनका लागि मोबाइल हेर्न दिनेको सङ्ख्यामा प्रतिदिन वृद्धि हुँदै छ । बालबालिकालाई अल्मल्याउन सजिलो पाटोको रूपमा मोबाइललाई प्राथमिकतामा राखेपछि बालबालिकाहरूलाई मोबाइलको लत लाग्ने गरेको छ ।अहिलेका बालबालिकाहरू शरीरलाई असर पर्ने पहिले जस्तो खेलकुद नगरी धेरै समय घरमै बिताउन चाहनुको परिणाम पनि हो मोबाइलमा लत ।

मोबाइलबाट विश्वको गतिविधिबारे आवश्यक परेको बेलामोबाइलबाट विश्वको गतिविधिबारे आवश्यक परेको बेला तुरून्तै जानकारी लिन सकिन्छ । सूचना एकै छिनमा विश्वमा पु¥याउन सकिन्छ । बालबालिकालाई सिकाउन र विद्यार्थीलाई अल्छी नलाग्ने गरी पढाउनका लागि मोबाइल सहयोगी साधन बन्न सक्छ।

यति हुँदाहुँदै पनि बालबालिकालाई मोबाइलको कुलत नलागोस् भन्नेमा अभिभावक तथा शिक्षकहरू सजग र सचेत हुनु जरूरी छ। शिक्षक मण्डलको ससाना बालबालिकादेखि १२ सम्मका विद्यार्थीहरूलाई अति आवश्यक कामका लागि बाहेक मोबाइलको पहुँचबाट टाढा राख्नुपर्ने तर्क छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.