खलोले परिवार पाल्न धौधौ
बझाङ । मष्टा गाउँपालिका–१ जिन्नाडाकी भट्टी आउजीले ५६ वर्षमा पाइला टेके । उनलाई सम्झना भएदेखि उनको पाँचदशक जीवन भाग्या (खलो दिने मालिक) कै खेतबारीमा बित्यो । बिहे नहुँदा माइतीका भाग्या र बिहेपछि पहिलाको भाग्यले दिएकै अन्नले अहिलेसम्म पुगनपुग जोहो गरेका छन् ।
जिन्नाडामा भट्टीका चार परिवार भाग्या छन् । हरेक सिजनमा लगाउनेदेखि भित्र्याउनेसम्म गरेको कामबापत सिजनल खलो पाउँछन् उनी । खेतीको कामबाहेक अन्य समयमा भाग्यका कपडा सिलाउने उनलाई कतै जाने फुर्सद पनि छैन । “भाग्याको काम नगरे खानै पाइँदैन”, उनले भने, “फुर्सदै हुँदैन कता जानु ? जति काम गर्न सक्यो त्योअनुसारको खलो पाइने हो ।”
गाउँमा सबैभन्दा ठूलो परिवार पनि भट्टीकै हो । पछिल्लो समय छोराहरू परदेशी हुन थालेपछि घरमा दुई नातिनातिनाका साथ आउजी दम्पती मात्रै हुन् । “मेरा २० जनु कविला (परिवार) हौँ”, भट्टीले भने, “घरमा खानलाई नै नपुग्ने भयो । नातिनातिनासहित छोराबुहारी देश (भारत) गए । अहिले उतैबाट दिएको पैसाले घर खर्च चलाएका छौँ ।”
भट्टीको भाग्याप्रति सोच सकारात्मक नै छ । “सधैँका वर्ष भाग्याको बाली फलेअनुसार खलो पाइन्थ्यो । यो पटक भने एक डालो (निगालाबाट बनेको छाप्रो) मात्रै गहुँ पाइयो । धान पनि खासै राम्रो होला जस्तो छैन ।” उत्पादन भए भाग्याले आफूलाई सधैँ खुसी पार्ने गरेको उनले बताए । “उहाँले पनि भए पो दिने, नभए के दिन्थे र ?” उनले भने ।
भट्टीजस्तै समस्यामा हुनुहुन्छ जिन्नाडाकै मीना आग्री । उनलाई पनि भाग्यले दिएको खलोले नै परिवारको पेट भर्नुपरेको छ । वर्षभरि काम गर्दा पनि दुई महिनालाई खान नपुगेको उनको गुनासो छ । “मेरो त भाग्या पनि एकै परिवार छन्”, उनले भने, “भाग्याका मौ सबै तराई झरिसके । यता एकै परिवारले दिएको खलोले पुग्दैन ।”
आग्रीका अनुसार जिन्नाडामा दलित समुदायका घरबाहेक जमिनको टुक्रा छैन । “जिन्नाडामा अगाडिको पुस्ता आएर यतै बसेछन्”, उनले भने, “अहिले कतै जाने ठाउँ छैन । खाना माना पनि पुग्दैन । अवस्था पहिलेको भन्दा गरिब हुँदै गएको छ ।”
जिञ्जाडाका दलित समुदाय त्यहाँका गैरदलित समुदायमै आश्रित छन् । घरबाहेक उनीहरुसँग न उत्पादन गर्ने जमिन छ, नत हिँड्ने बाटो नै । वर्षभरि भाग्याको खेती गरेको एक कट्ठा धान र एक सुप्पो (बोरामा एक चौथाई) गहुँबाहेक केही पाउँदैनन् उनीहरू । “भाग्यको खेतमा गहुँ तथा धान छर्ने, गोडमेल गर्ने, काट्नेसम्म सहयोग गर्नुपर्छ, वर्षभरि लुगाकपडा सिलाउनुपर्छ । त्योबापतको खलो (अन्न) पाउँछौँ”, मीनाले भनिन्, “वर्षभरि एक बोरा धानले कसरी चल्ने ?” गत वर्ष त गरिब भनेर स्थानीय राम थापाले एक\एक बोरा चामल दिएको उनले बताए ।
आर्थिक अवस्था कमजोर हुँदा पढाई छोड्दै
जिञ्जाडाको दलित समुदायबाट सबैभन्दा बढी पढेका भट्टीका छोरा सुरेश आउजी नै हुन् । उनी १२ कक्षा पढेर नेपालमा रोजगारी नपाएको भन्दै भारत गए । एघार परिवार रहेको दलित समुदायमा केही युवाले माध्यमिक तह उत्तीर्ण गरेर पनि परिवार पाल्न भारत हानिए । “सबैभन्दा बढी पढेको मेरै छोरा हो”, भट्टीले भने, “१२ कक्षापछि बढी पढ्न क्याम्पस टाढा भए । पढाई खर्च पुगेन । जागिर कतै पाएन, अनि दिल्ली गयो ।” अहिले सुरेशको कमाइका केही अंश नै आफूले चामल किन्ने गरेको उनले सुनाए।
सुरेशपछि पढ्दै गरेका गाउँघरका आठ÷१० जना किशोरले नै पढाई छाडेर भारत गए । सानो उमेरमै विवाह गर्ने र जीविकोपार्जनका भारतको मजदुरीमै उनीहरूको दिनचर्या हुन थाल्यो । मीनाका देवर, भतिजा पनि ६÷७ कक्षामै पढाई छाडेर मजदुरीका लागि भारत पसेको उनले बताए ।
शिक्षाको यति ठूलो समस्या हुँदा पनि सरकारी तथा गैर सरकारी निकायले चासो नै दिएका छैनन् । “गाउँमा आउने सबैलाई शिक्षा, स्वास्थ्य खानेपानीको समस्या सुनाउँछौँ । तर सम्बोधन कतैबाट पनि हुँदैन । पालिकामा गएर आग्रह गर्दा पनि बेवास्ता भयो”, मीनाले भने।
कुवाको पानीकै भर
जिञ्जाडामा दलितभन्दा गैरदलित समुदायको सङ्ख्या बढी छ । थापा, रोकाया, अयडी, खाती र विष्ट समुदाय बस्छन् । तर, गाउँमा गैरदलित समुदायमा खानेपानीका लागि एउटा धारा छ भने दलित समुदाय कुवाकै भरमा छ ।
गैरदलितले डाँडाबाघको पानी ल्याएका छन् । त्यो दलित समुदायलाई भने छुन पनि बन्देज गरेको छ । देउता लाग्ने भन्दै डाडाँबाघबाट बग्ने पानी छुनसमेत नदिने गरेको पिङ्की आउजीले बताए । “हामे डाँडाबाघको पानीसमेत छुन पाइँदैन”, उनले भने, “हामुले पानी खाने कुवा बाजेकै पालाको हो ।”
डाँडाबाघतिर जानै नपाउने गरेको उनले बताए । “मन्दिरको पानी भन्दै त्यो ठाउँमा जानै पाइँदैन । फोहर बगाएको पानी कसरी खानु । कुवाले जोगाएको छ”, उनले भने । वडाध्यक्ष रामचन्द्र रोकाया भने जिन्नाडामा अघिल्लो कार्यकालमा केही नआएको र अहिले सबै पूर्वाधारका लागि बजेट छुट्याएको बताउँछन् । “उहाँहरूका लागि उहाँहरूका समस्या सबै बुझेको छु । सक्दो समाधान गर्नेछु”, उनले भने ।
उनले नगरपालिकाको कार्यक्रममा आउजीको प्रतिनिधित्व आफूले गरेको बताए । जिञ्जाडाका महिलाकै अगाडि उनले भने, “तपाईंहरुको प्रतिनिधित्व गरेर म यहाँ आएको छु । तपाईहरूकै समस्या राख्नेछु । तपाईहरू धैर्य हुनुहोस् ।”
जिञ्जाडाका दलित समुदायको मुख्य समस्या पानी नै रहेछ । त्योसँगै बाटोघाटो, शौचालय, बिजुलीको समस्या छँदैछ । स्वच्छ पानी त त्यो समुदायमा कुनै पुस्ताले पनि खान पाएका छैनन् । “जमिन हेर्ने हो भने घर भएको ठाउँभन्दा बढी छैन”, मीनाले भने, “हिँड्नलाई अरूको खेतको डाली हुँदै जानुपर्छ । पानी पिउनलाई किरा फट्याङ्ग्राले पौडी खेलिरहने कुवाको खानुपर्छ । गैरदलित समुदायको धारामा छुनसमेत पाइँदैन ।” राज्यले आफूलाई नहेरेको उनीहरूको गुनासो छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment