पाकिस्तानको स्वातमा हजारौं मानिस सडकमा उत्रिए, भने– यो २०१० होइन…
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाका धेरै क्षेत्रमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । करिब ४० घन्टापछि यी विरोध प्रदर्शन सकिएका हुन् ।
स्वातमा भ्यान चालकलाई गोली हानेर हत्या गरेको विरोधमा यी विरोध प्रदर्शन भइरहेका थिए तर प्रशासन र आन्दोलनकारीबीच सहमति भएपछि अहिले शवको दाहसंस्कार गरी प्रदर्शन फिर्ता गरिएको छ ।
सोमबार बिहान स्वातको चारबाग तहसील क्षेत्रमा एउटा स्कुल भ्यानमा हमला हुँदा भ्यान चालकको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन् । यो घटनापछि यहाँ जनताको आक्रोश बढ्यो र जनता सडकमा निस्किए । त्यसपछि निजी विद्यालयका शिक्षक र विद्यार्थी पनि आन्दोलनकारीको समर्थनमा आन्दोलनमा उत्रिएका थिए ।
प्रदर्शनकारीले चालकको शव बोकेर सडकमै बसेर दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै आएका थिए ।
प्रदर्शनकारीले यो हत्याको मात्रै होइन बढ्दो आतंकवादी घटनाको पनि विरोध गरिरहेका थिए । बीबीसी उर्दू संवाददाता ओमर दराज नांगियानासँग कुरा गर्दै उनीहरूले भने, ‘यो २०१० साल होइन, जब हामी तिमीलाई देखेर भाग्ने गर्दथ्यौं, हामी आफ्नो सहर, हाम्रो देश र हाम्रो भूमि छोड्ने छैनौं भनेर स्पष्ट गर्न चाहन्छौं।’
वास्तवमा सन् २०१० मा स्वात उपत्यकामा बढ्दो चरमपन्थीका कारण सेनाले कारबाही तीब्र बनाएको थियो र सर्वसाधारणलाई यो क्षेत्र छाड्न भनिएको थियो ।
पश्तून संरक्षण आन्दोलनका प्रमुख मन्जुर पश्तीनले बीबीसीलाई भने, “विगत २० वर्षदेखि हामीले क्रूरता र उत्पीडनको सामना गरेका छौं, पहिले हामी अतिवादका कारण कमजोर थियौं र अहिले सुरक्षाको नाममा सताइँदैछौं।”
“बालबालिका मारिएकामा हामी धेरै दुःखी छौं। हामी कुनै पनि परिस्थितिमा हाम्रो माटोमा आतंकवाद सहन सक्दैनौं,” उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment