रुसले खेरसनको अवस्था अत्यन्तै कठिन भएको स्वीकार गर्यो
काठमाडौं । युक्रेनमा रुसी सुरक्षा बलका कमाण्डरले देशको दक्षिणी सहर खेरसनको अवस्था ‘कठिन’ रहेको र त्यहाँका मानिसहरूलाई बाहिर निकाल्नुपर्ने बताएका छन्।
जनरल सर्गेई सुरोभिकिनले युक्रेनी सेनाले सहरका पूर्वाधार र घरहरूलाई निशाना बनाएर हिमार रकेट प्रयोग गरिरहेको बताए। रुसको सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
“रूसी सेनाले त्यहाँ बस्ने मानिसहरूलाई बाहिर निकाल्नेछ,” उनले भने। उनको भनाइलाई अर्का शीर्ष रुसी अधिकारीले पनि दोहोर्याएका थिए।
रुसी-नियुक्त क्षेत्रीय अधिकारी किरिल स्ट्रेमोसोभले खेरसनमा बस्ने मानिसहरूलाई चाँडै युक्रेनी सेनाले शहरमा आक्रमण गर्ने चेतावनी दिए।
उनले टेलिग्राम मेसेजिङ सेवामा पठाएको सन्देशमा भनेका छन्, “कृपया मेरो कुरालाई गम्भीरतापूर्वक लिनुहोस्। म यहाँबाट जतिसक्दो चाँडो मानिसहरूलाई सुरक्षित राख्ने कुरा गरिरहेको छु।” निपर नदी किनारमा बसोबास गर्ने जनता सबैभन्दा बढी जोखिममा रहेको उनले बताए ।
रुसले यस क्षेत्रको गभर्नर भ्लादिमिर साल्डोलाई नियुक्त गरेको छ। साल्डोले पनि भिडियो सन्देशमार्फत यो खतरालाई स्वीकार गरेका छन् ।
खेरसन युक्रेनको प्रमुख सहरहरू मध्ये एक हो, जुन यस वर्ष फेब्रुअरीमा भएको आक्रमणपछि रुसले कब्जा गरेको थियो।
पछिल्ला केही सातादेखि युक्रेनी सेनाले आफ्नो वरपरका क्षेत्रहरू पुनः नियन्त्रण गर्न द्रुत गतिमा प्रयास गरिरहेको छ।
जनरल सुरोविकिनले भने, “यो विशेष सैन्य क्षेत्रको अवस्थालाई कठिन भन्न सकिन्छ।”
रुसले अहिले खेरसन र युक्रेनी अन्य तीन भूभागमा आफ्नो नियन्त्रण दाबी गरेको छ । तर, यो दाबीलाई अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ।
यद्यपि, जनरल सुरोभिकिनले उद्धृत गरेका कठिनाइहरूको बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गरेको छैन।







डिसी नेपाल







Facebook Comment