फेरिएन भोट माग्ने शैली

डिसी नेपाल
५ कार्तिक २०७९ १५:२२
धनगढी । प्रतिनिधि सभाका लागि कैलाली २ बाट उम्मेदवारी दिएका एमालेका सचिव डेजी पाण्डे भाेट माग्न किसानको खेतमै पुगे । उनले किसानलाई सहयाेग गरे जसरी धान पनि काटे । प्रचारका लागि मोहन्याल गाउँपालिका पुगेका पाण्डेले सबै किसान खेतमै रहेको पाएपछि खेतमै गएर भोट मागेकाे भिडियाे सामाजिक सञ्जालमा राखे । पाण्डेले अपनाएको भोट माग्ने तरीका परम्परागत हाे । तर पनि पाण्डे जस्ता उम्मेदवारहरू यसैलाई अपनाइरहेका छन् ।

कतिपय उम्मेदवारले अहिले पनि मतदातालाई विभिन्न प्रलोभन दिएर भोट तान्ने विधि अपनाइरहेका छन् । चुनाव जिते छोराछोरीलाई जागिर दिने, फ्रि मा वैदेशिक रोजगारीमा पठाइ दिने, राजनीतिक नियुक्ति गरिदिने जस्ता आस्वासन त अधिकांशको मुखमै झुण्डिएकाे पाउँछाै‌ ।

तर, आम मतदाता भने उम्मेदवारका यी आश्वासन र भोट पाउन गरिने गतिविधिबाट भाेक्तभाेगी भइसकेका छन् । ‘०७८ सालदेखि अहिलेसम्म उम्मेदवारले भोट माग्न अपनाउने तरिका फेरेका छैनन्,’ कैलालीको गोदावरी नगरपालिका-२ की सानू बिकले भनिन्, उही मुद्दा दोहोर्‍याइरहेका छन्, सैली पनि उस्तै छ, यस्ता उम्मेदवारबाट विकासको आस कसरी गर्नु ?’  मतदाताले परिवर्तन चाहिरहेका भए पनि उम्मेदवारको भोट माग्ने सैली नफेरिएको उनले बताइन् ।

‘हुनत अधिकांश उम्मेदवार पनि पुरानै छन्,’ धनगढी–१३ का विवेक रानाले भने, ‘उनीहरूका एजेण्डा पनि पुरानै छन्, न नयाँ अनुहार आए न त उम्मेदवारको सैली नै फेरिएको छ, मतदाता भने नयाँपन खोजिरहेका छन् ।’ विश्व प्रविधिको विकासमा तल्लिन भएका वेला यहाँका उम्मेदवारले प्रविधिको विकास गर्ने विषयमा भने कुरै नगर्ने गरेको उनी बताउँछन् ।

युवाको आकर्षण् प्रविधि हो,’ उनले भने, ‘अब काम गर्ने सैली बदल्नु पर्छ भन्ने सोच भएका वेला उम्मेदवार हसिया लगेर धान काट्ने र पुरस्कार दिन मै व्यस्त छन्, यस्ताबाट धेरै आसा गर्न सकिँदैन ।’

दलहरूले युवालाई उम्मेदवारनै नबनाएको भन्दै गोदावरी–११  की राज विकले भनिन्, ‘बुढापाकाको सोच नयाँ हुन सक्दैन, युवा आएका भए केही नयाँपन आउन सक्थ्यो जस्तो लाग्छ ।’ साना दलबाट र केही स्वतन्त्र उम्मेदवारी दिएका युवा उम्मेदवार रहे पनि उनीहरूको मतदातासम्म पहुँच पुग्न नसकेको उनी बताउँछिन् ।’

प्रतिनिधितथा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले मतदाता रिझाउन विभिन्न गतिविधि गरिरहेका छन् । कोही धान काँट्दै किसानसँग नजिक बन्न खोजिरहेका छन् । कोही जिल्ला तथा स्थानीय तहमा आयोजित विभिन्न प्रतियोगितामा नगद सहयोग, कोही विभिन्न वर्ग, समुदायमा आश्वासन बाँड्दै मतदातालाई आकर्षण गर्न लागिरहेका छन् । तर, उम्मेदवारले मतदातालाई नयाँ पनि भने केही दिन सकेको पाइदैन ।

कैलाली-५ को उर्मामा पाँच दिनअघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरेका हुन् । ‘धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्तरुपमा सहयोग भएको हो,’ प्रदेशसभाका प्रत्यासी रमेश धामीले भने, ‘किसानलाई समस्या पर्दा हामीहरू जहिले पनि सहयोगी बन्ने गरेका छौँ ।’

चुनावी प्रसारप्रचारका लागि समर्थकसहित प्रत्यासी गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक बढ्न थालेको छ । सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा टोलमा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेर आ–आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.