इरानले ४८ घण्टाभित्र साउदी अरेबियामाथि आक्रमण गर्ने !

डिसी नेपाल
१७ कार्तिक २०७९ ११:२२
2.9k
Shares

काठमाडौं । इरानले छिट्टै साउदी अरेबिया वा खाडीको कुनै पनि देशमाथि आक्रमण गर्न सक्छ। अमेरिका र साउदी अरेबियाले यस्तो खुफिया जानकारी साझा गरेका छन्। यो सूचना प्राप्त हुनासाथ साउदी अरेबिया र अमेरिकालगायत धेरै क्षेत्रीय देशको सेना उच्च सतर्कतामा छ । हिजाब प्रदर्शनबाट विश्वको ध्यान हटाउन इरानले आक्रमणको तयारी गरिरहेको गुप्तचर निकायले जनाएको छ ।

यसैबीच समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इरानले साउदी अरेबियामा आगामी ४८ घण्टाभित्रै यस्तो हमला गर्न सक्छ। गुप्तचर सूचनाको पुष्टि गर्ने एक अधिकारीले एपीलाई बताए कि इरानले जतिसक्दो चाँडो ४८ घण्टाभित्र आक्रमण गर्न सक्छ।

तर, अमेरिकी रक्षा गुप्तचर एजेन्सी पेन्टागनका प्रवक्ताले साउदी अरेबियालगायत अन्य देशबारे जारी गरिएको चेतावनीलाई खारेज गरेका छन् । तर उनले अमेरिका निरन्तर साउदी अरेबियासँग सम्पर्कमा रहेको बताए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पनि यो कुरा बताएका छन् । यस विषयमा अमेरिका चिन्तित रहेको नेड प्राइसले बताए । नेड प्राइसले भने कि अमेरिका सैन्य, कूटनीतिक र गुप्तचर माध्यमबाट साउदी अरेबियासँग सम्पर्कमा छ। उनले त्यस्तो केही भएमा आफ्नो र क्षेत्रका साझेदारको हित जोगाउन पहल गर्न नहिचकिचाउने बताए ।

अहिले इरानमा महसा अमिनीको मृत्युपछि ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । महसा अमिनीलाई इरानको नैतिक प्रहरीले हिजाब नलगाएको भन्दै पक्राउ गरेको थियो, त्यसपछि उनको हिरासतमै मृत्यु भएको थियो। त्यसयता इरानमा हजारौं मानिसले सडकमा प्रदर्शन गरिरहेका छन् । यस प्रदर्शनमा अहिलेसम्म सयौंको ज्यान गइसकेको छ ।

इरान सरकारले यस प्रदर्शनको पछाडि अमेरिका र उसका सहयोगीहरूको हात रहेको बताएको छ । इरानको तर्फबाट अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूमार्फत हिजाब प्रदर्शनलाई उक्साएको बताएको छ।

वास्तवमा, पछिल्ला केही वर्षहरूमा इरानले त्यस्ता धेरै सैन्य कदमहरू चालेको छ, त्यसपछि साउदी अरब र इरानलगायत खाडीका धेरै देशहरूबीच तनाव चलिरहेको छ। सेप्टेम्बरमा इरानबाट इराकको कुर्द क्षेत्रमा ७० वटा मिसाइल प्रहार गरिएको थियो । इराकको यस क्षेत्रमा ठूलो संख्यामा अमेरिकी सैनिक पनि तैनाथ छन् ।

अमेरिका र साउदी अरेबियाबीचको सम्बन्धमा तिक्तता कायमै रहेका बेला इरानबाट आक्रमणको योजना रहेको जानकारी आएको हो । वास्तवमा अमेरिकामा मध्यावधि चुनाव हुन लागेको छ । चुनावअघि साउदी बहुल ओपेक प्लस संगठनले तेल उत्पादन कटौती गर्ने निर्णय गरेको थियो। जबकि अमेरिकी राष्ट्रपति जो बाइडेन कुनै पनि हालतमा यो चाहँदैनन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल निर्यात गर्ने देशहरूको संगठन ओपेक प्लसको निर्णयप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । अमेरिकाबाट भने अब साउदी अरेबियासँगको सम्बन्धमा पुनर्विचार गर्ने समय आएको छ ।

तर, अमेरिकाको तीखो टिप्पणीपछि साउदी अरेबियाले यो निर्णय विशुद्ध आर्थिक सम्बन्ध भएको बताएको छ । साउदी पक्षबाट यो निर्णयको पछाडि कुनै राजनीतिक कारण नरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *