कल्पनाको उडान, आविष्कार र परमात्माको दर्शन
शून्य र एकान्त समय, अँध्यारो औंसीको रात, बाहिर चिसो हावा चलिरहेको छ। मानौं त्यही अमुर्त हावाले आफ्नी प्रेमिका ‘हुर’लाई टाढाबाट बारम्बार बोलाइरहेको जस्तो। हावाको बेगको साथै कल्पनाको लहर र तरंगको सृजना पनि बिस्तारै मन मष्तिस्कमा पसेर आकाशको अँध्यारोलाई के हेरिन्छ?
त्यतिबेला कैयौं ठाउँमा पानीको बर्षा गराई हजारौं जनधनको क्षति पुर्याई प्रकृतिको कानुनबाट बच्न त्यो पानीको मुस्लोको चलायमान बादल आफ्नो सुरक्षाकोलागि कहीँ कतै ठाउँ खोजे जस्तो लुकी लुकी झन्डै एक कल्पनाकारको दिल र दिमागमा पसी कुनै एउटा अपूर्व आविष्कार र झन्डै परमेश्वरको दर्शन गराउन खोजे जस्तो आभाष दिलाउँछ।
वास्तवमा बादलको फेरिरहने आकृति र कल्पनाको सागरको फेरबदलको तरंग एक समान लहर हो जसले जे पनि सृर्जनाको उत्पत्ति गराउँछ र हरेक सम्भावित कुराहरुलाई सार्थक बनाउँदछ। फुर्तिलो कल्पनामा उ शेर बन्न तैयार हुन्छ, उ हात्ती बन्न तैयार हुन्छ, त्यस्तै सुर्य र चन्द्रमा टिपेर ल्याउने कोसिस गर्दछ।
तर कमजोर कल्पनामा उ मुसा, बिरालो, स्याल र लोखर्के बन्न पनि बेर लाग्दैन। बर्षातको कल्पना गर्दा उ पुर्णिमाको जलधी भइदिन्छ र पानी पार्न ठिक्क हुन्छ। उड्न खोजे उ मयुरपंख जस्तो उडान भर्ने सानो पुष्पक बिमान पनि बन्न तैयार हुन्छ भने एक्कासी संसार भ्रमण गर्ने कल्पना गर्दा वायुपंखी घोडा पनि बन्न तयार हुने यो बादल र बादलरुपी कल्पना साच्चैमा एउटा आविष्कारको प्रेरणादायी परिकल्पना बन्ने गर्दछ।
वास्तविकतालाई एकछिन पर सारी कल्पनाको संसारमा उडान भर्ने हो भने कल्पनाका श्रष्टाहरुलाई वास्तवमा वास्तविकतामा आउने मन लाग्दैन।
किनकि यहि कल्पनाको उडानमा बादल पारीको अर्को प्रकृतिको नगरको नजर र परिक्रमा गर्न सकिन्छ र यही समयमा विश्वका बढे बढे कवि, साहित्यकार र दार्शनिकहरुले संसारलाई सधैं पढिरहुँ, सुनीरहुँ जस्ता कविताहरु, साहित्यहरु, दर्शनहरु र संगीतका मर्मस्पर्सी गाथाहरु आजका भुँइमान्छेहरुलाई बुझाएर गएर भन्छन् कि, हेर, कल्पनाको शक्तिको उचाई कहाँसम्म हुन्छ? भनेर, भनिन्छ, “जहाँ नपहुचे रवि उहाँ पहुँचे कवि, साहित्यकार, दार्शनिक र संगीतज्ञ।“
यस्तै कल्पनाको सागरमा अस्थिर बादललाई हेर्दै कल्पनाकारले कल्पना गर्दै जाँदा सारा जगतको कल्पना गर्न पनि पछि पर्दैनन्। कल्पनाकै क्रममा मानिस कहिले घना जंगलमा पुग्छन्, कहिले महासागरको डिलमा पुग्छन् भने कहिले बिशाल डाँडाको टुप्पोमा पुगी संसारलाई एकैचोटी नजरअन्दाज गरी अनेक कुराको आविष्कार गर्दछन्।
कल्पनाकै लहरमा चीनको ग्रेटवाल बन्न सफल भयो जुन निर्माण गर्दा लगभग तिस लाख मानिसहरुले काम गरेका थिए र हजारौंले बलिदान दिएका थिए। यो चन्द्रमाबाट पनि सहजै देख्न सकिन्छ।
त्यस्तै जोर्डनको पेट्रा ऐतिहासिक सहर, ब्राजिलको क्राइस्ट द रिदिम्मर, भारत आग्राको ताजमहल, इटालीको कोलोस्सियम, पेरुको माचुपिचु र मेक्सिकोको चिचेन इत्जा। यो हालै स्विटजरलेन्डबाट प्रकाशित विश्वका सात अचम्मका धरोहरहरु हुन् जसको निर्माण मानिसको कल्पनालेनै तैयार भएको देखिन्छ।
त्यस्तै प्रकृतिले श्रृष्टि गरी छोडिदिएको एक तमासको संसारलाई अमेरिका, फ्रान्स, बेलायत, जर्मन, इटाली, डेनमार्क, रुस, चिन, भारत र अन्य युरोपीयन मुलुकहरुले आ-आफ्नो देशलाई कसरी कल्पनाको झिलिमिली संसार बनाए। आज सिंगापुर ,हङकङ, मकाउ, अष्ट्रेलिया र त्यस्तै अन्य मुलुकहरु बिकासको चुलीमा कसरी पुग्न सफल भए? त्यो सबै कर्मठ नेताहरुको कल्पनाको कारणले नै यस्तो भएको हो।
कल्पनाको सिर्जनशिलतामा यहाँ माहासागरमा पूल बनेको छ, बिशाल चर्च, मठ मन्दिर र ठूलाठूला इमारत बनेका छन्। सारा सजिसजावटका सामानहरु बनेका छन्। सम्पूर्ण रोगहरुको औषधि बनेका छन्।
झन्डै आकास छुने महलहरु बनेका छन्, साँच्चै भन्ने हो भने संसार झिलिमिली नै बनेको छ। यो सबै मानिसको कल्पना र सोचकै प्रत्युक्पादक हो। वास्तवमा कल्पनाले कल्पवृक्षको बिशाल रुखको छहारीमा पुर्याउँदछ जहाँ मानिसका सारा इच्छा र आकाँक्षा पुर्याउँदछ। यो भन्दा बढी कल्पनाले के दिने? जसले सारा संसारको स्वामित्व समेत बनाउन सफल हुन्छ।
कल्पना एक भावना हो भने भावना एक सोच र विचार हो जसले मानिसलाई सधैं स्वच्छ, ताजा र चुस्त र दुरुस्त बनाई राख्दछ। पूर्नयाैवनताको उदय गराउँदछ। यो एउटा ध्यान पनि हो जसबाट नयाँ नया कुराहरुको सिर्जना हुन्छ र अझ गहिरिएर कल्पना गर्ने हो भने यसबाट उनै परमात्माकाे पनि अनुभूति गर्न सकिन्छ।
ठूल्ठूला महापुरुष, महाज्ञानीहरुले परमात्मालाई साक्षात्कार गरी परमधाम भएका छन्। महात्मा गौतम बुद्ध, चीनका लाओत्से, भारतका लाहेरी बाबा, महायोगानन्द बाबा र नेपालका खप्तड स्वामी र शिवपुरी बाबा जस्ता महा योगीहरुले भौतिकवादमा नअल्झिकन पराभौतिक जगतमा आफूलाई समाहित गरेकाले कल्पनाकै आधारमा परमात्मामा लीन हुन पुगे भने कल्पनाको सोचको कुनै गहिराइ छैन र उचाई पनि तसर्थ जसरी बादललाई हेरी जेपनि कल्पना गर्न सकिन्छ। त्यसरीनै कल्पना गर्दा पनि जे पनि मुर्त बनाउन सकिन्छ।
यदि कल्पनाको उडानको बेग संसारका मानिसमा नभैदिएको भए वास्ताविकतामा आज बीजमात्र रहथ्यो र ढुंगा घोटी घोटी आगोबाली खाना पकाउन पर्दथ्यो। अमेरिका बेलायत पुग्न बर्षौं लाग्थ्यो र सधैं झोपडीमा बसी पशुको जीवन बिताउन पर्दथ्यो। तर कल्पनाको आबिस्कारहरुले आज हामीहरुलाई मानिसले “मानिस” भई बाँच्न सक्ने बनाएको छ। वास्तवमा भन्ने हो भने कल्पनाले नै वास्तविकतालाई मजबुत र हृष्टपुष्ट बनाउने हो। वास्ताविकता आफैँमा एउटा कल्पना नै गर्न नसकिने ठुलो वृक्षको एक बीज मात्र हो, तर सम्पूर्णता भने होइन।
वास्ताविकता प्रकृतिको सिर्फ सेतो र कालोको दुइ पाटामात्र जस्तो हो जहाँ कुनै सुवास, स्वाद र रंगीन झिलिमिली हुँदैन। आजको मान्छे भोलि बुढाबुढी भई मरी जाने, बनाएको सम्पूर्ण चिज एकदिन भत्किई जाने,आजको चिज भोलि बासी हुने, एकदिन अगाडि बोलेको कुरा असत्य हुने, आजको फूल भोलि ओइलाउने, आजको माया भोलि रिसमा बदलिने, आजको प्रेम भोलि अभिसाप बन्ने, आजको योग्यता डिग्री सर्टीपिकेटहरु र आफ्नै भाग्यका चिना टिप्पनिहरु पनि भोलि आफ्नै चितामा दन दनी बल्ने, त्यस्तै उज्यालो अन्धकारमा परिणत हुने, सुर्य उदाउने र अस्ताउने, नयाँ र नौलो कुरा भोलि पुरानो भई जाने र अन्तमा फाल्नै पर्ने होकि?
त्यस्तै एक छिनको हँसाई रोदनमा परिणत हुने, इच्छा पूर्ति हुँदा खुसि र नहुँदा दिक्क हुने, यहि होइन र वास्ताविकता भनेको? जहाँ कुनै चिजको ताजा कल्पना गर्न सकिन्न, जन्मिएर हुर्कँदै जाँदा आखीर यहि जीवन पनि एकदिन झ्याप्प निभ्छ। यहि हो वास्ताविकताको सफा ऐना, अस्ती सम्म पशुपति मृगस्थलिमा शिव नाच नाचिरहेकी चर्चित अभिनेत्री जेनी कुँवर समयको अन्तरालमा पशुपतिकै आर्यघाटमा जल्नको लागि ठिक्क परेर चीर निन्द्रामा सुतेकी थिइन्।
आज तिनीपनि खाली कल्पनामा सिमित छिन्, यस्तै बितेका अन्य करोडौं श्रष्टाहरु पनि आज सम्झनामा र कल्पनामा सिमित भएका छन्। तसर्थ कल्पना एउटा झिल्का हो जसले प्रतेक चिज वस्तुलाई अमुर्तबाट मुर्त बनाउँदछ। कसैले केहि कल्पना गर्न थाल्दछ भने वास्ताविकता सधैं मृत अवस्थामा रहन तत्पर रहेको हामी पाउदछौं। कल्पना र भावनाले नै हर कुराको पूनःबृष्टि गराउँदछ।
भानिन्छ कल्पनाशील व्यक्ति योगी हो भने कल्पनाहीन व्यक्ति एक रोगी हो जसले कुनै कुराको सृष्टि गर्न सक्तैन। अतः सम्पूर्ण मानव कुनै न कुनै प्रकारले कल्पनामा डुब्नै पर्दछ।
यसमा बितेको समय र समर्पण कदापि खेर जाँदैन बल्कि अन्तत परमात्माको दर्शन गर्न सकिन्छ र संसारमा कुनै दुःख नभई परमात्माको पनि दिव्य मुहार देख्न पछी पर्नु पर्दैन।
किनकी भाव र कल्पनामा नै श्रद्धाको सिर्जना हुन्छ र त्यही श्रद्धाको अविरल समर्पणमा परमात्माको दर्शन गर्न सकिन्छ। तसर्थ, कल्पनाको लहरमा यसका घोडाहरुपनि दौडी दौडी थाकी सकेका हुनाले कतै विश्राम लिन थालेकोले कल्पनालाइ यहीँ विश्राम लिन चाहन्छु।
















Facebook Comment