मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

डिसी नेपाल
१७ वैशाख २०८३ २१:५४

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दै आइरहेको छ। सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधारका लागि बहुवर्षीय आयोजना अघि बढाएको हो। हाल उक्त निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट विनियोजन नहुँदा अलपत्र परेको छ।

आव २०७६/७७ मा जोमसोममा सुविधा सम्पन्न दुईतले बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु गरिएको थियो। सङ्घीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणाधीन जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड हल विगत दुई वर्षदेखि रोकिएको छ। कभर्ड हलको लागत रु छ करोड ५८ लाख तय गरिएको छ।

इनडोर खेलमैदानलगायत विभिन्न पूर्वाधारको व्यवस्थापन गर्ने गरी निर्माण थालनी गरिएको जोमसोमस्थित बहुउद्देश्यीय कभर्ड सङ्घ, प्रदेश र स्थानीय तहको टुक्रे बजेट र समयमा आवश्यक बजेट नहुँदा निर्माण सम्पन्न हुन बिलम्व भएको हो। समयमा बजेट सुनिश्चितता नहुने, विनियोजित रकम लागत अनुपातभन्दा न्यून बजेट हुँदा कर्भड हल निर्माणले गति लिन नसकेको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले जानकारी दिए।

आयोजना सुरु भएको छ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उनले उल्लेख गरे। निर्माणाधीन कभर्डहल आयोजना कार्यान्वयनमा आएको पहिलो वर्ष सङ्घीय सरकारबाट रु ४० लाख, प्रदेशबाट रु ५० लाख र घरपझोङ गाउँपालिकाको समपूरक बजेट रु १५ लाख लागत साझेदारी गरिएको थियो।

यसैगरी आव २०७७/७८ मा प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय तहबाट रु १७ लाख गरी रु ४२ लाख बजेट विनियोजन भएपछि कभर्ड हल निर्माणलाई निरन्तरता दिइएको थियो। “आव २०७८/७९ मा सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी रु ३२ लाख बजेट विनियोजन भएको थियो। आव २०८०/८१ मा पनि सङ्घीय सरकारबाट रु ३२ लाख र स्थानीय तहको समपूरक बजेट रु २० लाख गरी रु ५२ लाख बजेट परेको थियो”, इन्जिनियर बमले भने।

पछिल्लो समय घरपझोङमा निर्माणाधीन कभर्ड हलमा रु दुई करोड बढी बजेट खर्च भइसकेको उनले जानकारी दिए। निर्माण सुरु भएको छ वर्ष पुग्दा कभर्ड हलमा दर्शक बस्नका लागि प्यारापिट र भुइँतला ‘स्ट्रक्चर’ निर्माण भएका छन्। समग्रमा कभर्ड हलको दुई तला स्टक्चर उठिसकेको छ।

हलको भित्र र बाहिरका कभर्डमा विभिन्न कक्षको कोठाका संरचना तयार भएका छन्। कभर्ड हलमा फलामे ढोका पनि जडान गरिएको छ। जोमसोम खेल मैदानमा ७०० देखि ८०० दर्शक अट्ने गरी निर्माण भइरहेको इन्जिनियर बमले जानकारी दिनुभयो। दुई तले कभर्ड हलको नमूना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो।

उनका अनुसार यसको लम्बाइ ४५ मिटर र चौडाइ २५ मिटर हुनेछ। जोमसोममा निर्माणाधीन दुई तले कभर्ड हलमा इन्डोर भलिबल खेल मैदान, अफिस कोठा, परिवर्तन कक्ष (चेन्जिङ रुम), प्यारापिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालयलगायत पूर्वाधार निर्माण हुने योजना छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कभर्ड हल निर्माण सम्पन्न गर्नका लागि सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरिए पनि पछिल्लो समय बजेट विनियोजन हुन नसकेका बताए।

स्थानीय तहले चाहेर पनि कभर्ड हल निर्माण सम्पन्न गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्षण गराउँदै आइएको उनको भनाइ छ। मुस्ताङका पाँच स्थानीय तहमा सुविधा सम्पन्न इन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ विभिन्न खेलकुदकम कार्यक्रम आयोजना गर्न निकै कठिनाइ हुँदै आएको थियो। समुद्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा अवस्थित मुस्ताङको जोमसोममा दिउँसो १२ः०० बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल सञ्चालन गर्न कठिन हुन्छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *