अमेरिकासँगको तनाबका बीच साउदी अरेबियाले भारतसँग गर्‍यो ठूलो हतियार सम्झौता !

डिसी नेपाल
२६ कार्तिक २०७९ १४:०४
536
Shares

काठमाडौं । ओपेक प्लसको तेल उत्पादन कटौती गर्ने निर्णयमा अमेरिकाको असन्तुष्टिको सामना गरिरहेको साउदी अरबलाई भारतले अब बल दिने तयारी गरेको छ । पुनेस्थित कम्पनी कल्याणी स्ट्रेटेजिकले १२ हजार करोडको अर्डर स्वीकार गर्दै सम्झौतालाई अन्तिम रुप दिएको मिडिया रिपोर्टमा चर्चा छ । यो सम्झौता अन्तर्गत स्वदेशी १५५ एमएम आर्टिलरी गन उपलब्ध गराइनेछ ।

तर, अहिलेसम्म कम्पनीले न साउदी अरेबियाको नाम लिएको छ न त हतियार कति संख्यामा आपूर्ति गर्ने हो भन्ने कुरा नै सार्वजनिक गरेको छ । तर फाइनान्सियल एक्सप्रेसको रिपोर्टलाई उद्धृत गर्दै पुणेस्थित कम्पनीको साउदी अरेबियासँग मात्रै सम्झौता भएको बताइएको छ ।

बम्बे स्टक एक्सचेन्ज (बीसीई) लाई जानकारी दिँदै कल्याणी समूहले साउदी अरेबियाको नाम नलिई कम्पनीलाई यो अर्डर कुनै द्वन्द्व वा युद्ध क्षेत्रमा नपरेको देशबाट प्राप्त भएको बताएको छ। यो अर्डर तीन वर्षभित्र पूरा गर्नुपर्छ। कम्पनीका अनुसार यो सम्झौताले मेड इन इन्डिया हतियारको निर्यातलाई मजबुत र प्रवर्द्धन गर्ने छ । यसका साथसाथै यो आत्मनिर्भर भारतको एजेन्डा अनुरूप पनि हुनेछ।

फाइनान्सियल एक्सप्रेसको रिपोर्टका अनुसार साउदी अरेबियाबाट नै यस कम्पनीको वार्ता चलिरहेको थियो र यो हतियार सम्झौता साउदी अरेबियासँग भएको हो । कम्पनीले साउदी अरेबियाको नाम लिएको छैन, तर पनि यसको चर्चा चौतर्फी छ

रिपोर्टका अनुसार २०२० मा कल्याणी समूहले दुईवटा भारत ५२ ए १५५ एमएम, ५२ क्यालिबर टोइड होविट्जर ट्रायलका लागि साउदी अरब पठाएको थियो । कम्पनीले अहिले बीएसईलाई दिएको जानकारीमा कुनै देशको नाम लिएको छैन तर यी हतियार साउदी अरबमा मात्र पठाउन सकिने उद्योग स्रोतबाट आएको छ ।

यो खबर यस्तो बेला आएको हो, जब एकातिर भारत निर्यातका लागि आफ्नो हतियार बजार बढाउन चाहन्छ, अर्कोतिर साउदी अरेबियाको प्रमुख हतियार आपूर्तिकर्ता अमेरिका आक्रोशित छ । साउदी अरेबियालाई हतियारको आपूर्ति रोक्न धेरै अमेरिकी सांसदहरूले पनि प्रस्ताव गरेका छन्।

भारतले अहिले हतियारको मामिलामा विदेशी बजारमा आफ्नो पकड बलियो बनाउन खोजिरहेको छ । भारतले सन् २०२५ सम्ममा कम्तीमा ५ अर्ब डलरको हतियार र सुरक्षा उपकरण निर्यात गर्ने लक्ष्य राखेको छ । भर्खरै, फिलिपिन्स र आर्मेनियासँग हतियार क्षेत्रमा भारतको ठूलो सम्झौता फाइनल भयो।

सन् २०१४ देखि हालसम्म भारतले करिब ३० हजार करोडको हतियार निर्यात गरेको छ । यसमा सन् २०२२ मा अर्थात् चालू वर्षको पहिलो दुई त्रैमासिकमै ८ हजार करोडको निर्यात भएको छ ।

हतियार क्षेत्रमा भारतको निर्यात आर्थिक वर्ष २०२१-२२ मा उच्चतम स्तरमा रह्यो। यस अवधिमा करिब १३ हजार करोडको हतियार निर्यात भएको थियो । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तीमध्ये ७० प्रतिशत हतियार निजी कम्पनीले बनाएका थिए ।

अमेरिकी राष्ट्रपतिलाई तेल उत्पादन कटौती गर्ने निर्णयमा अमेरिकाको विशेष मित्र साउदी अरेबियाको ठूलो भूमिका हुनेछ भन्ने आशा पटक्कै थिएन । जो बाइडेन तेल उत्पादनमा कटौती रोक्न साउदी अरेबियासँग लगातार वार्तामा थिए।

यस्तो अवस्थामा ओपेक प्लसले यो निर्णय गर्दा अमेरिका नराम्ररी आक्रोशित भएको थियो । युक्रेनसँगको युद्ध लडिरहेको रुसलाई फाइदा पुर्याउन साउदी अरेबियाले यस्तो निर्णय गरेको अमेरिकी पक्षबाट बताइएको छ । तर, साउदी अरेबियाले यो निर्णय विशुद्ध आर्थिक रुपमा लिएको स्पष्ट पारेको छ । यति हुँदाहुँदै पनि अमेरिका र साउदी अरबबीचको सम्बन्धमा तिक्तता देखिएको छ ।

अमेरिका साउदी अरबलाई सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि हो। हालै अमेरिकाका धेरै सांसदले पनि दुई देशबीचको हतियारको आपूर्ति बन्द गर्नुपर्ने माग गरेका छन् ।

सांसदहरूले अमेरिकाले आफ्नो तर्फबाट साउदीलाई उपलब्ध गराइने सबै प्रकारका सुरक्षा उपकरण बन्द गर्नुपर्ने बताए। यदि अमेरिकाले यस्तो गरेमा साउदी अरेबियाको वायुसेना एक महिनाभित्रै मैदानमा आउने उनको दाबी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *