इरानमा हिजाब विरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड !
काठमाडौं । इरानको क्रान्तिकारी अदालतले महसा अमिनीको मृत्युपछि देशमा सुरु भएको सरकार विरोधी प्रदर्शनमा संलग्न एक प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यसबाहेक अन्य ५ जनालाई ५ देखि १० वर्षसम्म कैद सजाय तोकिएको छ । सेप्टेम्बरमा अमिनीको मृत्युपछि सरकारलाई हल्लाउने आन्दोलनमा संलग्न प्रदर्शनकारीलाई दिइएको यो पहिलो मृत्युदण्ड हो।
इरानको न्यायपालिकासँग सम्बन्धित समाचार वेबसाइट मिजानका अनुसार सरकारी भवनमा आगो लगाउने, सार्वजनिक व्यवस्थामा खलल पुर्याउने र राष्ट्रिय एकता विरुद्ध षड्यन्त्र गरेको आरोपमा प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको हो। यसबाहेक अन्य ५ जनालाई राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्था उल्लंघन गरेको अभियोगमा ५ देखि १० वर्षसम्म कैद सजाय सुनाइएको छ ।
मिजानका अनुसार क्रान्तिकारी अदालतका विभिन्न शाखाले यस्ता निर्णय गरेको हो । यसलाई सबै दोषीले अदालतमा चुनौती दिन सक्ने बताइएको छ । न्यायपालिकाले इरानका तीन प्रान्तमा हजारौं मानिसलाई अभियोग पनि लगाएको छ। केही प्रदर्शनकारीहरूलाई मृत्युदण्डको सजाय दिने ईश्वरविरुद्ध युद्ध गरेको आरोप लगाइएको छ।
इरानमा महसा अमिनीको मृत्यु भएदेखि हिजाबको विरोधमा भएका प्रदर्शनलाई सरकारले यसलाई दंगा भनेका छन् । हालसम्म यी प्रदर्शनमा सुरक्षाकर्मीसहित एक दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमिनीको प्रहरी हिरासतमा सेप्टेम्बर १६ गते मृत्यु भएको बताइएको छ । प्रहरीले उनलाई सेप्टेम्बर १३ गते पक्राउ गरेको थियो । इरानमा हिजाब अनिवार्य छ भने अमिनीले तेहरानमा राम्रोसँग हिजाब नलगाएको आरोप लागेको थियो। अमिनीलाई पक्राउ गरी प्रहरी चौकी लगिएको थियो । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि अमिनीलाई अस्पताल लगिएको थियो । तीन दिनपछि उनको मृत्यु भएको खबर आयो ।
इरान मानव अधिकारका अनुसार महसा अमिनीको मृत्युपछि सुरु भएका यी प्रदर्शनहरूमा सुरक्षा बलले हिंसात्मक कारबाही गरेको थियो, जसमा ३०० भन्दा बढीको मृत्यु भएको थियो। यसमा दर्जनौं बालबालिका पनि परेका छन् । यी प्रदर्शनहरूमा ४० भन्दा बढी सुरक्षाकर्मीको पनि मृत्यु भएको इरान सरकारले जनाएको छ।







डिसी नेपाल







Facebook Comment