उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने मिसाइल हान्यो
काठमाडौं । दक्षिण कोरियाले शुक्रबार उत्तर कोरियाले फेरि एकपटक आइसीबीएम वर्गको मिसाइल प्रहार गरेको जनाएको छ । यी मिसाइलहरू अमेरिकासम्म मार हान्न सक्ने गरी तयार पारिएका हुन् ।
यो क्षेप्यास्त्र जापानी टापु होक्काइडोबाट २१० किलोमिटर पश्चिममा समुद्रमा खसेको जापानको तटरक्षक विभागले जनाएको छ । यसअघि बिहीबार उत्तर कोरियाका विदेशमन्त्री च्वे सुन हेले अमेरिकाले यस क्षेत्रमा सैन्य उपस्थिति बढाउने योजना बनाएमा कडा प्रतिक्रिया दिने बताएका थिए ।
उत्तर कोरियाले सोही दिन छोटो दुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । कम्बोडियामा अमेरिकी राष्ट्रपति जो बाइडेन, दक्षिण कोरियाली नेता युन सुक-योल र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीचको भेटपछि मिसाइल प्रहार गरिएको थियो ।
बाइडेनले यसअघि उत्तर कोरियाको उत्तेजक गतिविधिको बारेमा टिप्पणी गरेका थिए र यस समयमा तीन सहयोगीहरू बीच अधिकतम समन्वय रहेको बताएका थिए।
पछिल्ला दुई महिनामा उत्तर कोरियाले ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ जसमध्ये अधिकांश छोटो दूरीका क्षेप्यास्त्र हुन्। तर यी लामो दूरीका मिसाइलहरूको फायरिङ सामान्य होइन।
यी क्षेप्यास्त्रहरूले अमेरिकाको लागि प्रत्यक्ष खतरा बनाउँछन् किनभने यी अमेरिकाको कुनै पनि ठाउँमा परमाणु बम खसाल्न सक्षम छन्।
दक्षिण कोरियाली सैन्य अधिकारीहरूका अनुसार सबैभन्दा भर्खरको आइसीबीएम उत्तर कोरियाको राजधानी प्योङयाङबाट स्थानीय समय अनुसार बिहान १०:१५ बजे प्रहार गरिएको थियो।
यो मिसाइलले छ हजार किलोमिटरको उचाइमा पुग्नुका साथै एक हजार किलोमिटरको दुरी पार गरेको छ । यस मिसाइलको गति २२ म्याक थियो ।
जापानका रक्षामन्त्री यासुकाजु हामादाले यस मिसाइलको दायरा अमेरिकासम्म पुग्न पर्याप्त रहेको र यसले १५ हजार किलोमिटरसम्मको दुरी पार गर्न सक्ने बताएका छन् ।
यसै क्रममा जापानी प्रधानमन्त्री फुमिया किशिदाले थाइल्याण्डमा सञ्चारमाध्यमसँग भने, ‘हामीले (उत्तर कोरियालाई) त्यस्ता गतिविधि सहन नसक्ने कुरा स्पष्ट गरिसकेका छौं।’
उत्तर कोरियाले केही महिनायता अमेरिकी सैन्य गतिविधिको जवाफमा कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यससँगै उत्तर कोरियाले नयाँ प्रकारको आइसीबीएम ह्वासोङ १७ तयार गरिरहेको छ जुन पहिले परीक्षण गरिएको आइसीबीएम भन्दा ठूलो छ।
विज्ञहरू विश्वास गर्छन् कि ह्वासोङलाई फायर गर्ने यसअघि गरिएका धेरै प्रयासहरू असफल भएका छन् र उत्तर कोरियाले अझै फायर गर्न सकेको छैन।
दक्षिण कोरियाली सेनाका अनुसार गत महिना एक आइसीबीएम उडानको क्रममा फेल भएको थियो। यसअघि अक्टोबरमा उत्तर कोरियाले पाँच वर्षमा पहिलो पटक जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
आर्थिक प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरिसकेको छ र सातौं परीक्षणको तयारी गरिरहेको विश्वास गरिएको छ । र यो संग उसले लगातार आफ्नो सैन्य क्षमता बढाउन कोशिस गर्दै छ।







डिसी नेपाल







Facebook Comment