मेलम्चीको पानी तेस्रोपटक सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण गरिने

डिसी नेपाल
२१ मंसिर २०७९ ५:५७
268
Shares

काठमाडाैं। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए। सुरुको पानी वाग्मतीमा पठाएपछि मंगलतबारदेखि सुरुङको गेट बन्द गरिएको छ।

केही दिन सुरुङ भर्नलाई पानी बन्द गरिने उनले बताए। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो।

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल एक हप्तामा आइपुगेको हो। अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुनाए।

मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको छ। सुरुङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने छ।

पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ। यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो। मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गतेदेखि वितरण गरिने सार्वजनिक घोषणा गरिसकेका छन्। राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.