इरानले भारतीय चामल र चियामा प्रतिबन्ध लगायो

डिसी नेपाल
२५ मंसिर २०७९ १५:५६
11.4k
Shares

काठमाडौं । इरानले अचानक भारतीय चिया र चामलको आयातमा रोक लगाएको छ । यससँगै भारत सरकारले इरानको राजधानी तेहरानमा रहेका राजदूतलाई इरानी क्रेताले भारतबाट चामल र चिया आयात गर्न किन रोकेको छ भनी जानकारी दिन आग्रह गरेको छ ।

बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार यो जानकारी एक उच्च सरकारी अधिकारीले दिएको हो । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । गत हप्ता, दुई सरकारी अधिकारीहरूले जानकारी दिए कि इरानले अचानक भारतीय चिया र चामलको आयात बन्द गरेको छ ।

सम्भवतः इरानबाट केही फलफूलको आयातमा भारतले प्रतिबन्ध लगाएको बदलास्वरूप इरानले यो प्रतिबन्ध लगाएको हो । अधिकारीहरूले भनेका थिए कि हामी इरानको यो निर्णयबाट छक्क परेका छौं किनभने इरान भारतीय चिया र चामलको ठूलो बजार हो।

अन्य देशबाट आउने चामलको तुलनामा भारतीय चामल निकै सस्तो हुने भएकाले इरानले भारतीय चामल र चियामा रोक लगाउनु सामान्य कुरा नभएको अधिकारीहरूले नाम न छाप्ने सर्तमा बताए । त्यसैले इरानको यो निर्णयले गहिरो राजनीतिक प्रभाव पारेको छ ।

भारतीय चिया संघका सचिव सुजित पात्राले वाणिज्य मन्त्रालय, विदेश व्यापार महानिर्देशनालय र तेहरानस्थित भारतीय दूतावासमा यो विषय राखेको बताए । सुजित पात्राले इरानले अचानक किन भारतीय चिया र चामल आयात गर्न बन्द गर्यो भन्ने बुझ्न चाहेको बताए ।

यदि बजार रिपोर्टहरू विश्वास गर्ने हो भने, इरानको कृषि मन्त्रालयले आवश्यक प्रोफार्मा दर्तामा प्रतिबन्ध लगाएको छ। सुजित पात्राका अनुसार इरानमा कुनै पनि खरिदकर्ताले आयात गर्नुअघि कृषि मन्त्रालयबाट जारी गरिएको प्रोफार्मा दर्ता गराउनुपर्छ ।

प्रोफार्मा जारी गर्न रोकिएपछि इरानको भन्सार विभागले कुनै पनि जहाजलाई इरानको कुनै पनि बन्दरगाहमा आउन दिने छैन । जसका कारण भारतीय निर्यातकर्ताले इरानमा चिया र चामल पठाउन सकेका छैनन् ।

इरानलाई वैदेशिक व्यापारको हिसाबले भारतको लागि महत्वपूर्ण देश मानिन्छ। भारतले आफ्नो निर्यातको २० प्रतिशत चिया इरानलाई बेच्ने गर्छ। त्यस्तै, चामल निर्यातको हिसाबले भारतका लागि इरान ठूलो बजार हो । भारतबाट बिक्री हुने बासमती चामलको कुरा गर्दा गत आर्थिक वर्षमा भारतबाट कुल निर्यातको एक चौथाइ चामल इरानमा बिक्री भएको थियो ।

तर, चामल निर्यातकर्ताहरूले इरानमा हिजाब विरोधी प्रदर्शनका कारण व्यापार अवरुद्ध भएको बताएका छन् । जसका कारण इरानी खरिदकर्ताले समयमा भुक्तानी गर्न सकेका छैनन् ।

इरानलाई बेच्ने सामानमा चामल, चिया, चिनी, ताजा फलफूल, औषधि, सफ्ट ड्रिंक्स, औद्योगिक मेसिनरी र हड्डीविहीन मासु पर्छन्। भारत र इरानबीचको द्विपक्षीय व्यापार अप्रिल र सेप्टेम्बरसम्म १.३ अर्ब डलर पुगेको छ। जसमा निर्यात १ अर्ब डलर र आयात ३० करोड ६० लाख डलर रहेको थियो । यससँगै गत वर्षको तुलनामा कुल कारोबारमा करिब ६० प्रतिशतले वृद्धि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *