चीन र भारतका सैनिकबीचको भिडन्तमा अमेरिकाले कसको पक्ष लियो ?
काठमाडौं । अरुणाचल प्रदेशको तवाङमा भारत र चीनका सैनिकबीच भएको झडपमा अमेरिकी विदेश मन्त्रालयले भारत आफ्नो महत्वपूर्ण कूटनीतिक साझेदार भएको र सीमामा कुनै पनि किसिमको आक्रमण वा झडपको निन्दा गरेको जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा भने, “भारत क्वाडमा अमेरिकाको द्विपक्षीय साझेदार हो। हामी भारतसँग सधैं घनिष्ठ सम्पर्क राख्छौं। हामी निश्चित च्यानलहरू मार्फत कूटनीतिक वार्ता जारी राख्छौं।”
“तर हामी सेना वा नागरिकहरूले वास्तविक नियन्त्रण रेखामा कुनै पनि प्रकारको आक्रमण वा झडपको निन्दा गर्छौं। भारत र चीनले वार्ताका लागि द्विपक्षीय च्यानल प्रयोग गरोस् भन्ने हामी चाहन्छौं ।”
जवाफमा संयुक्त राष्ट्रसंघले भारत–चीन सीमामा तनाव कम गर्न आवश्यक रहेको बताएको छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले मिडियाले सोधेको प्रश्नको जवाफमा भने, “हो, हामीले यी रिपोर्टहरू देखेका छौं। हामी दुवै देशलाई तनाव कम गर्न र क्षेत्रमा तनाव बढ्न नदिने कुरा सुनिश्चित गर्न अपील गर्दछौं।”
यसअघि अमेरिकाले यो सैन्य झडपको प्रतिक्रिया दिएको थियो। व्हाइट हाउस प्रेस सचिव करिन जीन पियरेले भने, ‘यसपटक दुवै पक्षले छिट्टै टकराव बन्द गरेकोमा हामी खुसी छौं । हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं, भारत र चीनले विवादित सीमाबारे छलफल गर्न विद्यमान द्विपक्षीय च्यानलहरू प्रयोग गर्नुपर्छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment