प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन : सूर्य थापा

डिसी नेपाल
२९ मंसिर २०७९ १६:५९
240
Shares

बुटवल । एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस–एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए । ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन । एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ,’ बुटवलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भने।

यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो भने आफ्नो असहमति रहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।

थापाले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरू कसको इशारामा चलेका थिए भन्ने पुष्टि क्रमशः हुँदै गएको थापाले बताए । नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्वहरू अहिलेसम्म सफल भएको उनले बताए ।

उनले चुनाव जितेपछि प्यूठानका ६४ वटा वडाका दुई सय वटा टोल विकास संस्थाहरूमा पुगेर मतदातालाई धन्यवाद दिए । उनीहरूको विकासप्रतिको आकांक्षा र पीरमर्कालाई नजिकबाट नियालेको उनले बताए । ‘सडक, पूर्वाधार, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा अब मेरो ध्यान हुनेछ,’ थापाले भने ।

उनले आफूलाई विकासको सिस्टम बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने बताए । प्यूठानमा स्वर्गद्वारी विमानस्थल निर्माण गरिने उल्लेख गर्दै उनले यसको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

प्यूठानमा विमानस्थल चल्दैन भन्नेहरूलाई जवाफ दिँदै थापाले भने, ‘सोलुखुम्बुमा सात वटा विमानस्थल छन्, प्यूठानमा नचल्ने प्रश्नै आउँदैन, पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने हो भने हवाई मार्ग हुँदै स्वर्गद्वारीमा लाखौं पर्यटक भित्र्याउन सकिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.