अचानक चिसो बढेपछि जनजीवन प्रभावित

डिसी नेपाल
१ पुष २०७९ ९:४९
112
Shares

सर्लाही। सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो।

दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्। चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासी रामवली रायले बताए।

चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन्। चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ। कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ।

बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेको र पशु चौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका स्थानीयवासी विनय महतोले बताए। चिसो बढिसकेकाले स्वास्थ्यको विशेष ख्याल गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदीप काफ्लेले सुझाव दिए।

उनका अनुसार यो बेला झोलिलो र तातो खानेकुरा प्रशस्त खान, न्यानो कपडा लगाउन सुझाव दिए। चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा सङ्क्रमण हुने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सक काफ्लेले सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *