चीनसँग सीमा जोडिएको लद्दाखका भारतीय गाउँहरूमा थुप्रै सक्रिय बम भेटिए

डिसी नेपाल
१ पुष २०७९ ११:४१
156
Shares

काठमाडौं । अरुणाचलको तवाङमा चिनियाँ र भारतीय सेनाबीचको झडपको बीचमा लद्दाखका गाउँहरूमा थुप्रै सक्रिय बम फेला परेको खबर छ।

द टेलिग्राफका अनुसार लद्दाखमा चीनसँग सीमा जोडिएको भारतीय गाउँमा दर्जनौं सक्रिय बम फेला परेको छ । यी बमहरू यहाँ फैलिएका चरनहरूमा छरिएका थिए।

बम रहेको जानकारी पाएलगत्तै भारतीय सेनाको बम डिस्पोजल टोलीले शुक्रबार राति अपरेशन गरी निष्क्रिय पारेको थियो ।

अखबारका अनुसार लद्दाखमा रहेको भारतीय सेनाको फायर एन्ड फ्युरी कोर्प्सका अनुसार उनीहरूलाई बुधबार राति लद्दाखको सुदूर पूर्वी क्षेत्रको सागा गाउँमा अनएक्सप्लोडेड (युएक्सओ) बम भएको जानकारी दिइएको थियो।

सेनाका प्रवक्ताका अनुसार बमको सूचना पाएलगत्तै यसका सेपर अर्डनेन्स विज्ञहरू सागा पुगेका थिए र छिट्टै कारबाही गरी ‘क्वान्टिटी ६५ भिटेक रस्टेड यूएक्सओ’ लाई निष्क्रिय पारेका थिए।

भारतीय सेनाको ट्वीटमा भनिएको छ कि बम डिस्पोजल विशेषज्ञहरु राति नै लेहबाट यस अपरेशनको लागि गएका थिए। त्यहाँ पुगे लगत्तै उनीहरूले डेढ किलोमिटर क्षेत्रमा छरिएका बम नष्ट गरे । यो सम्पूर्ण अपरेशन गर्न उनीहरूले ६ घण्टा लगाएका थिए ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा एक गाउँले गाउँको चरनको ठूलो क्षेत्रमा सक्रिय बम छरिएको बताइरहेको देखिएका छन् ।

समाचारका अनुसार यी बम भेटिएको गाउँ चाङटाङ सीमा क्षेत्रअन्तर्गत पर्छ । यसअघि पनि यहाँ भारतीय र चिनियाँ सैनिकबीच झडप भइसकेको छ ।

लद्दाखका धेरै विपक्षी काउन्सिलरहरूले सस्पोल काउन्सिलर दोर्जे नरबुको नेतृत्वमा यी बमहरूको बारेमा जानकारी पाएपछि उपराज्यपाल एके माथुरलाई पत्र लेखेर कारबाही गर्न माग गरेका थिए।

नार्बुले टेलिग्राफलाई भने, “सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको थियो जसमा उक्त क्षेत्रमा बम छरिएको देखाइएको थियो। त्यसले जनतामा आतंक मच्चाउने निश्चित थियो । त्यसपछि यस्तो घटना एक दुइपटक मात्र नभएको जानकारी प्राप्त भयो । यसअघि पनि हामीले बम फेला पार्दै आएका छौं । जसका कारण गाईवस्तु घाइते भएका छन् ।”

उनले भने, ‘मलाई थाहा छैन यी बमहरू नयाँ हुन् वा पहिलेका हुन् । तर तिनीहरू मानिसहरू र गाईवस्तुहरूको लागि खतरा हुन्। यही कारणले हिजो पत्रकार सम्मेलनमा हामीले यो प्रश्न उठाएका थियौँ । त्यसपछि सेनाको टोली त्यहाँ पुगेर ध्वस्त पारेको थियो ।’

तर, स्थानीय भाजपा पार्षद इशे स्पिलजाङले घटनामा खासै ध्यान दिएनन्। उनले यी बम सन् १९६२ को भारत-चीन युद्धका दिनका भएको बताए ।

उनले भने, ‘हावाहुरीका कारण माटोको माथिल्लो तह उडेका कारण यी बमहरू निस्किएको हुनुपर्छ । मैले सांसद जेटी नामग्याल र जिल्ला प्रशासनसँग कुरा गरेँ । यसपछि सेनाको टोली त्यहाँ पुगेर यी बमहरूलाई नष्ट गरेको थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *