रञ्जित गजमेरले २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए 

डिसी नेपाल
९ पुष २०७९ १८:१३
320
Shares

पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन् ।

दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ ।

गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी दुनिया छोड चले, मोहनी लाग्ला है जस्ता चर्चित गीतको धुन मादलमा घन्काए । वर्षौंपछि नेपाली स्रोतामाझ मादल बजाउने क्रममा उनका आँखासमेत रसाएका थिए ।

नेपाल लिटरेचर फेस्टिभलको बहानामा वर्षौंपछि पोखरा आउने मौका पाएँकोमा एकदम धेरै खुसी लागेको बताउँदै उनले भने, ‘धेरै वर्षपछि यसरी नेपाली बोल्ने मौका पाए । कत्ति वर्षदेखि नेपाली बोल्ने यस्तो मौका पाएको थिइनँ । बम्बैमा त घरबाट निस्केपछि अंग्रेजी बोल्नुपर्यो कि मराठी बोल्नुपर्यो । कि गुजराती कि हिन्दी बोल्नुपर्यो ।’

गजमेरको यो सेसन उनका चर्चित गीतहरुको सन्दर्भ वरिपरि केन्द्रित रह्यो। र, ती गीतहरु स्टेजमा गायक उज्वल सागरले गाए पनि ।

एकसेएक उत्कृष्ट गीतका संगीतकार रञ्जितले आफ्नो कुनै एक मात्र नेपाली गीत छान्नु पर्यो भने छान्ने गीत हो, झझल्को लिएर आएछ सावन ।

आशा भोसलेको स्वरमा सजिएको यो गीतको सन्दर्भ बताउँदै गजमेरले भने, ‘नेपाली पिक्चरमा नेपाली गायिकाले नै गायो भने राम्रो हुन्छ भन्ने कुरा आयो । तुलसी घिमिरे, मेरो श्रीमती र मैले सोच्दाखेरी काठमाडौंबाट तारादेवी वा दार्जिलिंगबाट अरुणा लामालाई बोलाउनु पर्यो । उहाँहरुको प्लेन खर्च, होटल यो सबै हाम्रो बजेटले भ्याएन,’ उनले भने, ‘मेरो श्रीमतीले एक पल्टलाई आशा भोसलेलाई भनम् भनिन् । आरडी बर्मनलाई यो कुरा भन्दा आफैं आशालाई भन भन्नुभयो। मैले आशा दिदीलाई भन्दा दिदी एकदम खुसी भयो ।’

बाँसुरी फिल्मकै मिर्मिरे साँझमा सिमसिमे पानी गीत पनि त्यो गीतसँगै रेकर्ड भएको उनले बताए । उनले खर्च जोगाउन दुबै गीत एकै दिन रेकर्ड गरिएको जानकारी दिए ।

मिर्मिरे साँझ उदित उदितनारायण झाको पहिलो गीत भएको पनि उनले बताए । उनले भने, ‘उहाँले मुम्बईमा माइक समातेर गाएको पहिलो गीत पनि यही हो ।’
नेपाली गीतको चर्चाको सिलसिलामा हम दोनो दो प्रेमी गीतको चर्चा पनि आइहाल्यो ।

उनले आफ्ना गुरुजी अर्थात् बोस आरडी बर्मनले नेपाली शैलीको गाना मागेपछि यही गीतको धुन मादल बजाएर सुनाएको स्मरण गरे । उनले भने,
यो गीत रेलमा छायांकन हुन्छ। गीतमा मादल मादल तिमी मात्र बजाउनू अरु रिदम चाहिन्न । गितार हुन्छ अनि अनि रेलको छुकछुक आवाज पनि चाहिन्छ ।’

रेलको छुकछुक आवाजको कथा पनि भनिहाले, ‘हामी रंग लगाउँदा साइन पेपर लाउँछौं नि त्यो साइन पेपर च्यातेर मेरो एक साथीलाई छिकछिक गर्ने आवाज निकाल्न लगाइयो । मनोहरि सिंह दाइले बाँसुरी बजाउनुभयो । लता मंगेशकर र किशोरकुमारले गाएको गीतमा जितन अमान र राजेश खन्नाले अभिनय गरे ।
हिन्दीपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री ? को पालो आयो ।

बाँसुदेव फिल्मका निर्देशक तथा पटकथाकार नीर शाहले यो गीतको प्रस्ताव गर्दा मैले भनेको थिएँ, ‘मैले महाकवि देवकोटाको कवितामा ट्युन गर्ने ? घर आएर श्रीमतीसँग कुरा गरेपछि उनले यो त तपाईंको लागि चुनौती हो भनिन् । चुनौती लिनैपर्छ । गर्नैपर्छ ।’

मुम्बईमा ट्युन बनाएर मात्र गीत लेखिने तर पहिल्यै लेखिएको देवकोटाको कवितामा संगीत भर्न गाह्रो लागेको उनको भनाइ थियो ।

‘पहिला छन्द मिलाउनुपर्छ हामीले । छन्द मिलाउने क्रममा यो तालमा हुन्छ कि, अर्को तालमा हुन्छ  नमिलेर सात मात्रामा गरौं न त भनेर त्यसपछि मैले प्रयास गरेँ । ट्युन हाम्रो भूपाली रागजस्तो होस्, नेपाल टच या पहाडी राग होस् भनेर हाम्रो भूपाली रागमा गर्यौं ।’

कार्यक्रम सञ्चालक सिर्जना पोखरेलले रञ्जितकी दिवंगत पत्नी कुसुम गजरेलमा समर्पित गर्दै कार्यक्रम सुरु गरेकी थिइन्। कुराकानीका क्रममा गजमेरले कुसुमलाई स्मरण गर्दै आफ्नो संगीत यात्रा यहाँसम्म आइपुग्नुमा उनको ठूलो हात रहेको बताए ।

उनले भने, ‘जति पनि काम गरेँ अहिलेसम्म, जति पनि नाम भयो मेरो रञ्जित गजमेरले गरेको होइन । ममा भगवानको आशीर्वाद थियो र दार्जिलिंगदेखि काठमाडौं र काठमाडौंदेखि बम्बईसम्म गएर उहाँको आशीर्वादले भएको हो। र, यसको सम्पूर्ण श्रेय मेरी श्रीमतीलाई दिन्छु । भए हुन्छ नभए फेरि फर्कौंला । उनको जोडले हामी बम्बै पुगेको हो । मेरी श्रीमती र भगवान पशुपतिनाथ र तपाईंहरु सम्पूर्ण नेपाली जनताले जो प्यार, माया दिनुभयो । त्यो नै सबैभन्दा ठूलो कुरा हो मेरो लागि ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.