प्रचण्ड प्रधानमन्त्री हुँदा किन चर्चामा छन् भारतका सांसद प्रमोद महाजन ?
काठमाडौं । २३९ वर्ष पुरानो राजतन्त्रको अन्त्य गरी सन् २००८ मा नेपालमा लोकतन्त्र आयो । नेपालमा लोकतन्त्र आएको १४ वर्ष मात्रै भएको छ र १० सरकार परिवर्तन भएको छ ।
नेपालको लोकतन्त्रबारे धेरैले यहाँका नेताहरू सत्ताका लागि छिट्टै चलखेल गर्न माहिर भएको टिप्पणी गर्छन् । कसैले स्पष्ट बहुमत नपाएका कारण ९० को दशकमा भारतीय लोकतन्त्रमा पनि यस्तो अवस्था थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पूर्व माओवादी छापामार पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । प्रचण्डले नेपालमा राजतन्त्र विरुद्ध एक दशक लामो हिंसात्मक विद्रोहको नेतृत्व गरे। उनी तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेका छन् ।
नेपालको २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ३२ सदस्य मात्रै छन् । प्रचण्डलाई केपी शर्मा ओलीको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को समर्थन प्राप्त भएको छ । ओलीको पार्टीको ७८ सिट छ ।
प्रचण्ड पार्टीका ३२ सदस्य मात्रै हुँदा पनि प्रधानमन्त्री बनेपछि भाजपाका दिवंगत नेता प्रमोद महाजनको भाषण सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । सन् १९९७ मा लोकसभामा भाषण दिंदै प्रमोद महाजनले देवेगौडालाई प्रधानमन्त्री बनाउँदा खिल्ली उडाउने एउटा घटना सुनाएका थिए ।
देवेगौडा जुन १, १९९६ मा आफ्नो पार्टी जनता दलका ४६ सांसदका साथ भारतको प्रधानमन्त्री बनेका थिए । देवेगौडालाई १३ वटा दलको समर्थन मिलेको र त्यसको नाम संयुक्त मोर्चा राखियो ।
देवेगौडा कूल ३२४ दिन अर्थात् जुन १, १९९६ देखि २१ अप्रिल, १९९७ सम्म प्रधानमन्त्री थिए। देवेगौडा प्रधानमन्त्री हुँदा अटल बिहारी वाजपेयीको १३ दिनको सरकार संख्याको अभावका कारण मे २७, १९९६ मा पतन भएको थियो।
प्रमोद महाजनले लोकसभामा देवेगौडा प्रधानमन्त्री बनेको पृष्ठभूमिमा आफ्नो चीन भ्रमणको सन्दर्भमा व्यंग्य गरेका थिए ।
This parliamentary speech by late Promod Mahajan in India exposes the reality of multi party democratic government system in our part of the world. #Nepal #election #prachanda pic.twitter.com/rRZYscIuBE
— Maheshwar Giri (@maheshwargiri) December 25, 2022
प्रमोद महाजनले आफ्नो मन्तव्यमा भनेका थिए, ‘म संसदीय प्रतिनिधिमण्डलको सदस्यको रूपमा चीन गएको थिएँ । एक चिनियाँ सांसदले भारतको लोकतन्त्रको बारेमा प्रश्न गरे। मैले भारतको लोकतन्त्रको व्याख्या गर्न एक सन्दर्भ उल्लेख गरें।’
“मैले चिनियाँ सांसदलाई भनें कि म लोकसभाको सांसद हुँ र मेरो पार्टी अझै पनि शक्तिको हिसाबले सबैभन्दा ठूलो छ। यति हुँदाहुँदै पनि हामी प्रतिपक्षमा छौं । मेरा साथी पानीग्रही दोस्रो ठूलो पार्टीका हुन् र उनीहरूले सरकारलाई बाहिरबाट समर्थन गरिरहेका छन् । एमए देवी तेस्रो ठूलो दलकी हुन् र संयुक्त मोर्चामा छन् तर सरकारभन्दा बाहिर छिन् । उहाँ रमाकान्त खलप (गोवाका सांसद) हुनुहुन्छ र उहाँको पार्टीबाट एक मात्र सांसद हुनुहुन्छ तर उहाँ सरकारमा हुनुहुन्छ। भारतमा लोकतन्त्र यसरी चलिरहेको छ।”
प्रमोद महाजनको यो भाषणमा लोकसभाका सबै सदस्यहरु धेरै बेर हाँसे । देवेगौडा प्रधानमन्त्री हुँदा उनी संसदको कुनै पनि सदनको सदस्य थिएनन् । त्यतिबेला देवेगौडा कर्नाटकका मुख्यमन्त्री थिए।
प्रचण्डले मंसिरमा नेपाली कांग्रेससँग मिलेर आमनिर्वाचन लडे । निर्वाचनमा ८९ सिट जितेर नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नै प्रधानमन्त्री रहने विश्वास गरिएको थियो तर अन्तिम समयमा प्रचण्डले पक्ष परिवर्तन गरे । प्रचण्डले नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाओस् भन्ने चाहेका थिए तर उनको माग मानिएन ।







डिसी नेपाल








Facebook Comment