चुनाब हारेका उपेन्द्र यादवकाे सांसद हुँदै मन्त्री बन्ने खेल, उपराष्ट्रपति पदलाई हतियार बनाउँदै
काठमाडौं। गएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बरभन्दा धेरै मतान्तरले पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सांसद बन्दै मन्त्री बन्ने खेल सुरु भएको छ। यसका लागि उनले उपराष्ट्रपति पदलाई हतियार बनाउने भएका छन्।
यादवले आफू पक्षीय नेता रामसहाय यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत गराएका छन्। संसदीय दलको निर्वाचनमा रामसहाय प्रसाद यादवलाई सर्वसम्मत बनाउँदै अशोक राईलाई पन्छाउने उपेन्द्र यादवको योजना छ।
संसदीय दलको नेतामा आफ्नो पक्षका सांसदहरुले जितेसँगै दलमा आफ्नो पकड हुने यादवको विश्वास छ। यससँगै सरकारलाई समर्थन गरेको जसपाले पदको बाँडफाँडको क्रममा उपराष्ट्रपति आफूले पाउनुपर्ने माग गर्नेछ। त्यसपछि उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई नै पठाउने उपेन्द्र यादवको तयारी छ।
राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र फरक जातीय समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ। यसअनुसार मधेशी समुदायका पुरुष यादव उपराष्ट्रपति बनेपछि राष्ट्रपति यसबाहेक फरक लिंग र समुदायको हुनुपर्नेछ।
यही संवैधानिक व्यवस्था अनुसार एमालेले पाउने राष्ट्रपति पदमा अष्टलक्षी शाक्यलाई राष्ट्रपति बनाउनेगरी सहमतिको प्रयास भइरहेको बताइएको छ।
रामसहाय उपराष्ट्रपति बनेर गएपछि उनले सांसद पदबाट राजीनामा दिनुपर्नेछ। उनले राजीनामा दिएसँगै बारा २ को प्रतिनिधि सभाको सिट रिक्त हुनेछ।
रिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ। यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो।







डिसी नेपाल








Facebook Comment