शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो, तीन दिनका लागि विद्यालय बन्द

डिसी नेपाल
२० पुष २०७९ ९:४५
140
Shares

सिराहा। सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ। करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन्। चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन्। अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन्।

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि स्थानीय तहहरुले विद्यालयमा पनि बिदा दिन थालेका छन्। जिल्लाको मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतका पालिकाले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका हुन्।

शीतलहरका कारण सिराहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिएको छ। उनले‘ चिसोले बालबालिकाहरुको नियमित पठनपाठनमा हुने असहजतालाई मध्यनजर गरी विद्यालय बन्द गरिएको बताए।

दुई दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरुले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताए। जिल्लाका अधिकांश पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन्।

सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ। चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ। बाक्लो हुस्सुकै कारणले सिराहाबाट बिहानै चल्ने सार्वजानिक सवारीसाधनसमेत प्रभावित भएका छन्।

चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसधानमा यात्रुहरुको संख्या अत्यन्त न्यून देखिन थालेका छन्। तराई मधेसका जिल्लाहरुमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ।

सिरहाका गाउँघरहरुमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ। गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन्। चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *