पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता
विराटनगर । विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित आज सम्झौता गरेको छ ।
विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको तीन कठ्ठा पाँच धुर जग्गा पार्किङका लागि प्रयोग गरिने भएको हो । महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेल र जग्गाधनीका तर्फबाट बद्रीशक्ति, शोभा र केदारशक्तिले हस्ताक्षर गरेका छन् ।
उनीहरूले महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । सरसफाइसहितका सम्पूर्ण कार्य महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै महानगरले सःशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भङ्ग गर्नुपरेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने महानगरको अभियानमा सहयोग गर्न प्रमुख नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।
प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ । सोही योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरिएको छ । अतिथि सदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।
यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया आगाडि बढाएको छ । यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यमा ह्रास आएको छ । “अबदेखि खाली जग्गामा फोहोर थुपारे महानगरले सम्बन्धित जग्गाधनीलाई कारबाही गर्नेछ”, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “मेरो निजी जग्गा हो भनेर जथाभावी फोहोर थुपार्नु भएन नि !”
No ads found for this position

डिसी नेपाल
Facebook Comment