सौरभको ‘द अनब्रेकेबल : अगस्त्य’मा सौगातको प्रवेश

डिसी नेपाल
१ माघ २०७९ १०:३५
72
Shares

काठमाडौं। निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ। माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सौगातको अभिनय रहने जानकारी गराइएको हो।

‘मिस्टर भर्सटायल’को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत छन्। फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन्।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए। सौरभ स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्।

राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ।

फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ। निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ।

दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्मको दुवै पार्टको स्क्रिप्ट भने तयार भैसकेको छ। आगामी बैशाखबाट सुटिङ सुरु गर्ने तयारी गरिएको फिल्म एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए।

उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन्। यो फिल्मलाई उनले आफ्नो ‘डू एन्ड डाई’को रुपमा लिएका छन्।

त्यस्तै, निर्माता मल्लले कथावस्तु सुनेपछि फिल्म निर्माणका लागि सहर्ष राजी भएको बताउँदै फिल्म स्तरीय बन्ने विश्वास व्यक्त गरे। हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.