लगातार दोस्रो जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेश, मधेस प्रदेशको पहिलो जित

डिसी नेपाल
१ माघ २०७९ १८:३०

विराटनगर ।  जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो । यो जित सँगै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।

एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमा समेटियो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन् ।
यस्तै कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले १० रन जोडिन् । एपीएफका लागि निशा भट्टले ३ तथा कप्तान सिता राना मगरले ३ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । पहिलो विकेटका लागि ज्योति पाण्डे तथा कप्तान सिताराना मगरले ५४ रनको साझेदारी गरेका थिए ।

प्लेयर अफ द म्याच समेत बनेकी कप्तान राना मगरले २९ बलमा ३६ रन बनाउँदा पाण्डेले १५ रन बनाइन् । इन्दु बर्माले २७ बलमा ३८ रन बनाउँदा नेरि थापा १९ रनमा अविजित रहिन् । बागमतीका लागि अस्मिना कर्माचार्य, मनीषा उपाध्याय, खुसी डङ्गोल र सोनी पाख्रिनले समान १/१ विकेट लिए । दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि एपीएफले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई पराजित गरेको थियो । दुई खेलमा लगातार हार ब्यहोरेको बागमती प्रदेश अङ्कविहीन रहँदै समूह ‘ए’ को अन्तिममा रहेको छ । सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा गण्डकी तेस्रो स्थानमा छ ।
आजै सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा मदेसले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो ।

प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिजो शनिवार लुम्बिनी प्रदेशसँग कर्णालीले ९८ रनको हार ब्योहोरेको थियो ।
आज भएको दोस्रो खेलमा कर्णालीले दिएको ८० रनको लक्ष्य मदेसले १०.२ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाइन । प्रतिमा शाहले अविजित १८ रन जोडिन । पहिलो खेलमा लुम्बिनीलाई ४७ अतिरिक्त रन दिएको कर्णालीले आज मधेस प्रदेशलाई २२ रन अतिरिक्तमा दिएको थियो ।
कर्णालीका लागि बिना थापाले २ विकेट लिइन । इटहरी स्थित जनता क्रिकेट पार्कमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो ।

सुखद सुरुवात गरेको कर्णालीले २३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि बाकी ५ विकेट गुमाएर कर्णालीले ५६ रन मात्र जोड्न सक्दा लगातार दोस्रो हार ब्योहोर्नु पर्‍यो । कर्णालीका लागि तिर्सना विश्वकर्माले १५ रन बनाइन् ।
अन्जु गुरुङले अविजित १३ रन बनाउँदा किरन कुँवर १३ रनमा आउट भइन् । कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मधेस प्रदेशका लागि भूमि सिंहले ४ तथा अमिरान निशाले २ विकेट लिए ।

दोस्रो खेलमा पहिलो जित हात पारेको मधेस २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । उक्त समूहमा लुम्बिनी शीर्ष स्थानमा रहँदा प्रदेश एक दोस्रो स्थानमा छ । कर्णाली प्रदेश दुई खेल खेल्दै अङ्कविहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत भोलि सोमबार हुने पहिलो खेलमा प्रदेश नम्बर एक र लुम्बिनी बिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेश बिच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *