तरकारीले उकास्यो जीवनस्तर

डिसी नेपाल
४ माघ २०७९ ७:३६
96
Shares

चाैतारा। धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका-५ जेठलका मकरबहादुर तामाङ। चार वर्ष साउदी अरबमा बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेका हुन्।

छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन थालेको छ। यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिएका छन्। साउदी अरबको अनुभव सुनाउँदै उनले भने, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ।”

त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताए। सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहेका उनी भन्छन्, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन।”

तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन्। रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थालेका हुन्। झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गरेका छन्। रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताए।

गत वर्षदेखि उहाँले रासायनिक मल प्रयोग पूर्णरुपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहेका छन्। गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायत झारपातबाट सजिलो तरिकाबाट तामाङ विषादी बनाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.