चालु आवमा १० गैँडा मरे

डिसी नेपाल
६ माघ २०७९ २२:३७

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिङ्गे गैँडा मरेका छन् । चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैँडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दईसहित मरेका गैँडाको सङ्ख्या १० पुगेको हो । सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुबै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् । मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैँडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी चार वर्षको बच्चा गैँडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिए । तस्करले माउ गैँडालाई थापेको धरापमा परेर बच्चा गैँडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताए । खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *