नेपालको ऐतिहासिक जितका नायकहरु

डिसी नेपाल
९ फागुन २०७९ २१:४०
840
Shares

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गत नेपालले पहिलो पटक त्रिकोणात्मक सिरिजमा लगातार ४ जित हासिल गरेको छ । घरेलुु मैदानमा नामिबिया र स्कटल्याण्डसँग भएको खेलमा पाहुना टोलीलाई पराजित गर्दै नेपालले जित हासिल गरेको हो ।

पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएर सिरिजमा जितसहित सुरुवात गरेको नेपालले दोस्रो खेलमा बलियो स्कटल्याण्डलाई ३ विकेटले हराउँदै आत्मबल बढाएको थियो । सिरिजकै तेस्रो खेलमा नामिबियालाई ३ विकेटले तथा चौथो तथा अन्तिम खेलमा च्याम्पियन स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले पहिलो पटक लिग दुईको सिरिजमा ऐतिहासिक जित निकालेको हो ।

अन्तिम खेलमा पारीको सुरुवात देखि नै लगातार विकेट गुमाएको नेपालको जितमा कप्तान रोहित पौडेले कप्तानी पारी खेले भने उनलाई साथ दिए अलराउण्डर करन केसीले । एक रनमै पहिलो विकेट गुमाएको नेपालले १३८ रनमा ८ विकेट गुमाइसकेको थियो ।

कप्तान पौडेल र केसीले नवौँ विकेटका लागि ७५ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पु¥याए । संयमित तरिकाले ब्याटिङ गरेका कप्तान पौडेलले ९५ रन बनाउँदै नट आउट रहे । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का लगाए । यस्तै उनलाई साथ दिएका करन केसीले ३७ बलमा ३१ रन बनाउँदै नट आउट रहे ।

नेपालको यो जितले खेलाडीहरुमा आत्मविश्वास बढाएको छ भने समर्थकहरुमा अझै धेरै उत्साह थपेको छ । नेपालले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार ४ जित निकाल्न सकेको थिएन । यो सिरिजमा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नुमा कोच मोन्टी देशाईको ‘ह्याप्पी ड्रेसिङ रुम’को फर्मूलाले राम्रो काम गरेको देखिन्छ । उक्त फर्मूलाले खेलाडीहरुमा सकारात्मक परिवर्तन तथा आत्मविश्वास बढाएको छ । त्यसकै नतिजा हो यो जित ।

सिरिजमा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे त्यसमध्ये केही खेलाडी भने सिरिजको नायक जस्तै बने । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ देखि लिएर तथा ओपनर कुशल भूर्तेलको शतक त्यसकै उदाहरण हुन् ।

सन्दीप लामिछाने

यो सिरिजमा स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरे । नाबालिग बलात्कारको अभियोग लागेर निलम्बनमा परेका लामिछानेले निलम्बन फुकुवा भएपछि उत्कृष्ट प्रदर्शन गरे । उनले यो त्रिकोणात्मक सिरिजमा ४ खेलमा १३ विकेट लिए । पहिलो दोस्रो र तेस्रो खेलमा समान ३/३ विकेट लिएका उनले चौथो तथा अन्तिम खेलमा ४ विकेट लिए ।

करन केसी

अलराउण्डर करन केसीले सिरिजमा ब्याटिङ तथा बलिङ दुवैतर्फ उत्कृष्ट भूमिका निभाए । बलिङतर्फ ९ विकेट लिए भने दुई खेलमा ब्याटिङ गर्दै टोलीलाई जित दिलाए । पहिलो खेलमा ५ विकेट लिएका उनले २० रन बनाउँदै नटआउट रहेका थिए । दोस्रो खेलमा विकेटबिहिन रहे भने ब्याटिङको मौका पनि पाएनन् । यस्तै तेस्रो खेलमा एक विकेट लिए । चौथो तथा अन्तिम खेलमा ३ विकेट लिएका उनले ब्याटिङमा ३१ रन बनाउँदै कप्तान रोहित पौडेलसँग ७५ रनको साझेदारी गरे ।

रोहित पौडेल

कप्तान रोहित पौडेलले यो सिरिजमा उत्कृष्ट प्रदर्शन गरे । अन्तिम खेलको हिरो बनेका पौडेलले सिरिजमा २१२ रन बनाए । अन्तिम खेलमा ९५ रन बनाउँदै जित दिलाएका उनले पहिलो खेलमा पनि ७२ रनको अर्धसतकीय पारी खेलेका थिए । यस्तै दोस्रो खेलमा ६ रन तथा तेस्रो खेलमा ३९ रन बनाए ।

कुशल मल्ल

अर्का अलराउण्डर कुशल मल्लले पनि यो सिरिजमा राम्रो प्रदर्शन गरे । ब्याटिङतर्फ दुई अर्धसतक सहित १६६ रन बनाएका उनले बलिङमा ४ विकेट लिए । पहिलो खेलमा ६ रन मात्रै बनाएका मल्ले त्यसपछिका लगातार दुई खेलमा अर्धसतक हानेका थिए । दोस्रो खेलमा ८१ तथा तेस्रो खेलमा ६२ रन बनाएका उनले चौथो खेलमा १७ रन बनाए ।

सिरिजमा अन्य खेलाडीले राम्रो प्रदर्शन गरे । ओपनर कुशल भूर्तेलले पहिलो खेलमा ११५ रनको सतकीय पारी खेले पनि त्यसपछिका तीन खेलमा भने रन बनाउन सकेनन् । एक खेलमा बलिङ गरेका उनले एक विकेट पनि लिए । यस्तै अर्का ओपनर आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरीले सिरिजमा एक एक अर्धसतक प्रहार गरे । ऐरीले बलिङमा एक विकेट पनि लिए ।

नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी आठ खेल नै जित्नुपर्ने हुन्छ । नेपालले यसै साता युएईमा युएई र पपुवा न्युगिनीसँग समान दुई/दुई खेल खेल्नेछ । त्यस सिरिजपछि घरेलु मैदान टियुमा युएई र पपुवा न्युगिनीसँग दुई/दुई खेल खेल्नेछ ।

अंक तालिका

लिग दुईमा स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य ग¥यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ भने नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ तथा युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।

शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । ओमान र स्कटल्यान्ड सोझै विश्वकप छनोटमा पुगेका छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

तस्वीर : क्यान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *