तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्
चौतारा। तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ। चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो।
दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउँछन्।
यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन। सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन्। पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्छन्।
अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ। चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन्।
दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउँछन्।
ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके। तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन। दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ।







डिसी नेपाल








Facebook Comment