महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता
महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ।
यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ।
श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गर्नुभएको सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २–० सोझो सेटले पराजित गर्दै श्रीदलले विजयी सुरुआत गरेको हो।
त्यसैगरी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा वीरभद्रजङ्ग गुल्म बझाङ विजयी भएको छ । सो खेलमा वीरभद्रजङ्ग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई २–० सोझो सेटले पराजित गरेको हो। प्रतियोगिता उद्घाटन समारोहमा सहभागी गुल्म तथा सैनिक टोलीले मार्चपास प्रस्तुत गरेका थिए । बाहिनीस्तरबाट छनोट हुने टोली आगामी चैतमा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी हुने नेपाली सेनाले जनाएको छ।
आगामी शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै रुद्रध्वज गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सागर कार्की बाहिनी तथा गुल्मका सैनिक अधिकृतलगायतको सहभागिता रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment