महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

डिसी नेपाल
५ चैत २०७९ १३:३७

दोधारा चाँदनी। कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ। पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो।

क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख गर्दै म्युजियममा सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको फोटो राखिने जानकारी दिए। नौ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो।

“कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो।” उनले भने,“यसमा एकै पटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन्।”

‘क्याप्टेन उप्रेती ट्रष्ट’ले महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियमसँगै हेलिकप्टर, सिद्धबाबाको मूर्ति र स्विमिङ पुल निमार्ण गरेको छ। उनले सुदूरपश्चिम क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत सुन्न सकिने बताए। म्युजियम प्रवेशका लागि प्रति व्यक्ति रू एक सय तथा विद्यार्थीका लागि रू ५० शुल्क तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *