बारा-२ मा ३६ जनाको उम्मेदवारी दर्ता

डिसी नेपाल
२० चैत २०७९ २०:४४
696
Shares

कलैया। प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्रयादवसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बाह्र राजनीतिक दल र बाँकी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन्। जसपा अध्यक्ष यादवले जिल्ला समन्वय समिति बारामा रहेको निर्वाचनको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

यादवको प्रस्तावकमा जसपाका नारायणप्रसाद यादव र सर्मथकमा सो दलका नवल यादव रहेका छन्।

उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन रहेको छ। यस क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।

नेकपा (एमाले) बाट पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। जनमत पार्टीबाट संविधानसभा सदस्य शिवचन्द्र कुसवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको पनि उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन कार्यालयले जनाएको छ।

नेपाल मजदुर किसानबाट मुक्तिप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, आमजनता पार्टीबाट अरुण ज्ञवालीको उम्मेदवारी परेको छ।

बारा–२ मा ४६ हजार तीन सय १४ पुरुष र ५८ हजार नौ सय ३४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.