गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक

डिसी नेपाल
२१ चैत २०७९ १०:१५
40
Shares

काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै भिडियोसहित मेलोडियस गीत सार्वजनिक गरिएको हो।

वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतका अतिथिहरुको उपस्थितिमा निर्माण टिमद्धारा गीत लोकार्पण गरिएको हो।

सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको यो गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन्। सागर ज्ञवालीको निर्देशनमा तयार भिडियोमा गायक रामकृष्ण स्वयंम फिचर्ड छन् भने उनका साथमा नव–मोडल पुनम भुषालको अभिनय छ।

कार्यक्रममा भिडियो हेरेपश्चात गीतकार आनन्द अधिकारीले ‘नदी’ शब्द, संगीत र स्वरमा ‘म्याच’ भएको गीत भएको बताए। ‘हिजोआज धेरै गीतमा शब्द एकातिर हुन्छ, संगीत अर्कोतिर। यसमा शब्द, संगीत, गायन म्याच भएको पाएँ’ अधिकारीले भने, ‘यसको भिडियो पनि सिमित स्रोत साधनमा राम्रो बनेको लाग्यो।’

संगीतकार न्यूह बज्राचार्यले आफूले धेरैपछि सुन्ने खालको गीत पाएको बताए। ‘कतिपयले गीत नाच्ने खालको भएन् भन्छन्। तर गीत सुन्ने हो भन्ने लाग्छ। गीत कानले सुनेर आनन्द लिने हो’ – बज्राचार्यले गीत भिडियोमा भन्दा अडियोमा राम्रो गर्नुपर्ने धारणा राखे। सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले पनि गीत राम्रो लागेको बताउँदै शुभकामना दिइन्।

गायक रामकृष्ण ढकालले ‘नदी’ आफूलाई हिजोका दिनमा चिनाउने धारको मेलोडिएर गीत भएको बताए। ‘हिजो आज गीत अलि फाष्ट खालको, नाच्ने खालको बनाउने प्रचलन छ। तर, यो त्यो भन्दा फरक खालको गीत हो’ ढकालले भने, ‘मैले हिजोका दिनमा जुन खालको ट्रेन्ड फ्लो गरेँ र जसरी काम गर्दै आएँ यो मलाई चिनाउने सोही धारको गीत हो।’उनले यो जतिबेला सुन्दा पनि आनन्द आउने खालको गीत भएको बताए। ‘नचाउने, उफार्ने खालको गीत पनि गर्छु । यो सुन्दा आनन्द आउने खालको मेलोडियस गीत हो’ ढकालले भने।

नव–मोडल पुनम भुषालले पहिलो भिडियोमै राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन्। निर्देशक सागर ज्ञवालीले गीतअनुसार तामझाम नगरी सामान्य खालको भिडियो बनाउने प्रयास गरेको बताए। नारायण जिसीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो गायक रामकृष्ण ढकालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *