कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

डिसी नेपाल
२३ चैत २०७९ १३:०२
140
Shares

सोल। कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ। अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो।

संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ।

अन्तरराष्ट्रिय सुरक्षा विश्लेषक चो जु ह्योनले संयुक्त सैन्य अभ्यासले प्रायद्वीपको स्थितिलाई विष्फोटक बनाउने प्रयास गरेको केसीएनएलाई बताएका छन्। उत्तर कोरियाले पनि आक्रमक कारबाही गर्नसक्ने चेतावनी उनले दिएका छन्। अमेरिका र उसका सहयोगीहरूले सैन्य उन्माद प्रस्तुत गरेर कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वमाथि खेलवाड गरेको आरोप उनले लगाएका छन्।

पाँच वर्षको अन्तरालमा हालै अमेरिका र दक्षिण कोरियाले गरेका विशाल संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यास भन्दै त्यसको कठोर शब्दमा निन्दा गर्दै आएको छ।

संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तरले पनि शृङ्खलाबद्ध रूपमा साना–ठूला क्षेप्यास्त्रको परीक्षण जारी राख्यो। गत वर्ष ७० वटाभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको प्योङयाङले यो वर्ष विभिन्न दश वटा परीक्षण कार्यक्रमअन्तर्गत कम्तीमा २० पटक ‘ब्यालेस्टिक’ र ‘क्रुज मिसाइल’ परीक्षण गरिसकेको छ।

बारम्बार छोटो तथा लमो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन्। उत्तर कोरियाले निरन्तर गरेका परीक्षणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उनीहरूको तर्क छ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।

उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन। आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *