रामनवमीमा भारतका मुस्लिममाथि भएको हिंसाप्रति पाकिस्तानको चिन्ता
काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले पनि भारतमा रामनवमीको दिन भएको हिंसालाई लिएर विज्ञप्ति जारी गरेको छ । पाकिस्तानले भारतमा मुस्लिममाथि बढ्दो हिंसाबाट आफू चिन्तित रहेको बताएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताको एक विज्ञप्तिमा भनिएको छ कि यस पटक रामनवमीका दिन भारतका कम्तीमा आठ राज्यमा चरमपन्थी समूहको पर्व मनाउन निकालिएको र्यालीका कारण मुस्लिम विरोधी हिंसाका घटनाहरू प्रकाशमा आएको हो ।
यस अवधिमा धेरै मस्जिद र मुस्लिम समुदायका भवनहरूमा आक्रमण भएको पाकिस्तानले जनाएको छ। बिहारको नालन्दा जिल्लाको एक मदरसामा आगलागी हुँदा कुरानसहित करिब चार हजार ५०० किताब जलेर नष्ट भएको छ ।
पाकिस्तानले पनि इस्लामोफोबिया र घृणाका घटनाहरू भारतीय राजनीतिमा बढ्दो हिन्दुत्व एजेन्डा र इस्लाम विरोधी बयानबाजीको परिणाम भएको बताएको छ।
यसअघि रामनवमीका दिन भएको हिंसाको इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनले पनि आलोचना गरेको थियो।
ओआईसीले भनेको थियो, “ओआईसी महासचिवले यी उक्साउने हिंसात्मक घटनाहरूको निन्दा गर्दछन् । यी हिंसात्मक घटनाहरू बढ्दो इस्लामोफोबियाका ज्वलन्त उदाहरण हुन्। भारतमा मुस्लिमहरूलाई व्यवस्थित रूपमा निशाना बनाइन्छ। ओआईसीले यस हिंसामा संलग्नहरूलाई कडा कारबाही गर्न भारतसँग माग गरेको छ। भारतले मुस्लिमहरूको सुरक्षा सुनिश्चित गर्नुपर्दछ र उनीहरूको अधिकारसँगै उनीहरूको मर्यादाको रक्षा गर्नुपर्छ।”
तर, भारतले यसलाई ओआईसीको साम्प्रदायिक सोच र भारत विरोधी एजेन्डा भन्दै जवाफ फर्कायो ।
ओआईसीको बयानमा भारतले भनेको थियो, “हामी भारतको सम्बन्धमा ओआईसीले जारी गरेको वक्तव्यको भर्त्सना गर्छौं। यो उनीहरूको साम्प्रदायिक सोच र भारत विरोधी एजेन्डाको अर्को उदाहरण हो। ओआईसी भारत विरोधी शक्तिहरूको दबाबमा आयो। यसले उसको छविलाई मात्र धमिलो पार्छ।”







डिसी नेपाल







Facebook Comment