पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

डिसी नेपाल
२६ चैत २०७९ ११:४४

बारा। पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ।

रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको जानकारी गराएका हुन्।

रेल विभागले गरेको पछिल्लो सर्भे अनुसार रौतहटको चोचा हुँदै निजगढ आउने भनिएको रेल्बे लाइन अब नयाँ एलाइन्मेन्टअनुसार निजगढ र सिगौंलको बीचमा पर्ने सुकेपोखरीबाट निजगढ वडा नम्बर ५ को पूर्वटोल हुँदै पश्चिमतर्फ जाने भएको छ।

कार्यक्रममा रेलवे विभागका इन्जिनियर सुमन पोखरेले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको रक्सौल– काठमाडौँ रेलको एलाइन्मेन्टसँग तालमेल गर्ने क्रममा पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन गर्नुपरेको बताए।

बाराको कोल्हबी हुँदै निजगढ प्रवेश गर्ने रक्सौल– काठमाडौँ रेल धन्सार नदी पार गरेर उत्तर लाग्ने र पूर्वपश्चिम रेल भने निजगढस्थित भमरा खोला पारीको जंगल हुँदै पूर्वटोल निस्किएर पुरानोटोलबाट लाल हुँदै डम्बरपुर भएर उत्तरतर्फ लाग्ने छ।

दुबै रेलमार्गको स्टेशन भने सुकेपोखरी नजिक राखिने भएको छ। यसअघि पूर्वपश्चिम रेलमार्गको निजगढस्थित नदीकट्टा हुँदै बकैया खोलाको पूर्व किनारा भएर पुरानो निजगढबाट पश्चिमतर्फ लाग्ने गरी नक्साङ्कन गरिएको थियो ।

निजगढको क्षेत्रको नक्साङ्कनको क्रममा यसअघि उत्पन्न विवादपछि पटकपटक भएको छलफलको क्रममा बकैया खोलाको किनाराबाट रेल्बे लिक निर्माण गर्न स्थानीय सरोकारवालाहरुले सहमति जनाएका थिए। छलफलमा निजगढ नगरपालिका क्षेत्र भित्रको मानव बस्ती, खेतीयोग्य जमिन, वन जंगलमा न्यून क्षति पुग्ने गरी सर्भे कार्यअघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत भएको छ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलालगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी र स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *