युरोपतर्फको घातक यात्राका क्रममा शरणार्थीहरूले भोगे यस्तोसम्म ‘दर्दनाक’ अवस्था

डिसी नेपाल
२९ चैत २०७९ ८:०७
164
Shares

बीबीसी “जब म जंगलमा बिताएका ती काला दिन सम्झन्छु-म आघातग्रस्त हुन्छु,” शरण खोज्ने सिरियाली अब्दुलरहमान किवानले बीबीसीसँगको जूम कुराकानीमा भने। यो केही महिनाअघि चिसो डिसेम्बरका दिनको कुरा हो। उनको वरिपरि हिउँनै हिउँ थियो र उनी बाँच्ने थोरै आशाका साथ थकानले ढलेका थिए।

अब्दुलरहमान भन्छन्, “मैले ठानेँ-म अब अघि बढ्न सक्दिनँ। मेरा घाइते गोडाले अब सहन सक्दैनन्।” बेलारुसलाई युरोपेली सङ्घको सदस्य लाट्भियाबाट छुट्ट्याउने जङ्गलमा उनी हप्तौँदेखि हिँडिरहेका थिए। दुवै तर्फका सीमा रक्षकले उनलाई पूर्वी युरोपका दुई देशबीच अगाडि र पछाडि धकेलिरहेका थिए।

उनका भनाइमा युरोप पुग्नु “मृत्युको यात्रा” जस्तो थियो तर सिरियाको युद्धबाट भाग्दै गर्दा उनले त्यो बाटो समात्नै पर्ने थियो। र, आफ्नो गोडामा लागेको चोटका कारण अब्दुलरहमानलाई युरोप पुग्ने युद्ध जित्न अपेक्षाकृत सहज मार्ग चाहिएको थियो।

अप्रमाणित फेसबुक अकाउन्टहरूबाट अरबी भाषामा धेरैले रूसको भिसा लिएर बेलारुस हुँदै तस्करका माध्यमबाट सहजै युरोप पुगिने विज्ञापन गर्छन्। उनका साथीहरूले पहिले नै त्यस्तो यात्रा गरिसकेका थिए। उनीहरूले उनलाई यो उनका लागि उत्तम विकल्प रहेको बताए। तर वास्तविकतामा त्यो गम्भीर साबित भयो।

नोभेम्बरमा बेलारुसबाट युरोपियन युनियनको सदस्य पोल्यान्डमा अनियमितरूपमा प्रवेश गर्ने तीनवटा असफल प्रयासपछि अब्दुलरहमान र अन्य धेरैले ईयूको अर्को सदस्य राष्ट्र लाट्भिया पुग्ने प्रयास गरे। उनीहरूले जंगलमा एकदमै थोरै खाना र पेयका साथमा ३० इन्च हिउँ जमेको स्थानमा दर्जनौँ किलोमिटर पैदल यात्रा गरे।

“हामी चिसोले काँपिरहेका थियौँ। हिँड्दा हामी अलिकति न्यानो हुन्थ्यौँ। तर जब हामी बस्थ्यौँ, हामी आफ्नो लुगा हिउँले भिजेको महसुस गर्थ्यौं,” अब्दुलरहमान भन्छन्। उनीहरूसँग पानी सकिएपछि शरीरमा पानीको कमी नहोस् भनेर उनीहरूले हिउँका डल्ला चुसे।

“हामी आशाविहीन भयौँ। हामीले हाम्रा परिवारलाई पनि हामीलाई माफ गरिदिन आग्रह गर्दै सन्देश पठाएका थियौँ किनभने हामी बाँच्नेछौँ भन्ने सोचेका थिएनौँ,” उनी भन्छन्।

इसाम अर्का सिरियाली हुन् र उनी पनि अब्दुलरहमानसँगै उनको यात्राको केही हिस्सामा सहभागी भएका थिए। उनीहरू दुवै जनाले जङ्गलमै कैयौँ साता बिताए। लाट्भियाको सीमा पार गर्ने बित्तिकै सीमा सुरक्षा बलले बेलारुसतर्फ नै उनीहरूलाई फर्काइदिए भने बेलारुसका सीमा सुरक्षा फौजले पनि त्यस्तै गरे।

“हामीले [लाट्भियन अधिकृतहरूलाई] भनिरह्यौँ, “बेलारुसका सीमा सुरक्षा बलले हामीलाई मिन्स्क फर्किन अनुमति दिइरहेका छैनन् र तपाईँहरूले हामीलाई लाट्भियामा जान दिनुभएको छैन, तपाईँहरू हामीले के गरून् भन्ने चाहनुहुन्छ?” इसामले भने।

लाट्भियामा सीमा सुरक्षा बलले उनीहरूलाई हिरासतमा लिए र पालमुनि राखे। उक्त स्थानलाई इसाम र अब्दुलरहमान दुवैले “फोहोर” र “भिड” भनेर वर्णन गरेका छन्। अब्दुलरहमानलाई त्यो बेलारुस सीमातिर सुरक्षा बलको मुख्य कार्यालयदेखि केही घण्टामात्र टाढा भएको जस्तो लागेको थियो।

उनीहरूका भनाइमा मानिसले सीमा पार गर्नुअघि उनीहरूलाई केही घण्टादेखि केही दिन वा महिना पालमा बिताउनु पर्ने हुनसक्छ। “त्यहाँ कुनै शौचालय, पानी वा केही पनि थिएन। हामीलाई अनुमति विना पालबाहिर निस्कन पनि दिइएन,” इसाम भन्छन्। उनी त्यस्तो व्यवहारलाई “अपमानजनक” भन्ने गर्छन्।

अब्दुलरहमानले लाट्भियास्थित एक स्थानको पालमा उनको चोट लागेको गोडामा अधिकारीहरूले लाठीले कुटेको बताए। त्यसपछि उनलाई सीमापार धकेलियो। सीमा पार गर्ने तेस्रो प्रयासमा उनी बेहोस भए। आफूलाई होस आउँदा पालभित्र सिपाहीहरूले तल राखेको र चोट लागेको गोडामा छ वटा चुरोट ठोसिदिएको उनले बताए।

उनले त्यहाँ करिब दुई सातासम्म पालमा बिताए। गत ज्यानुअरीमा उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अन्ततः लाट्भिया नजिकैको अस्पतालमा लगियो। इसामले पनि आफूलाई सीमा अधिकारीहरूले कुटपिट गरेको बताए। उनका भनाइमा लाट्भियाका सैनिकहरूले एकजना १६ वर्षका केटा र एउटी युवतीलाई कुटेको उनले देखेका थिए। ती केटाकेटीले उक्त देशमा प्रवेश गर्ने अनुमतिका लागि याचना गरिरहेका थिए।

“मैले उनीहरूलाई ती [महिलालाई] किन हिर्काउँदै हुनुहुन्छ भनेर सोधेँ। त्यसपछि उनीहरूले मलाई पनि कुटे। एकजना सिपाहीले मलाई लात हाने,” इसाम भन्छन्।

धनी २७ राष्ट्रहरू सदस्य रहेको युरोपेली सङ्घ आप्रवासी मुद्दामा वर्षौँदेखि विभाजित छ। ईयू र बेलारुस बीचको सीमा त्यसलाई दर्शाउने नयाँ केन्द्र बनेको छ। सन् २०२० मा विवादास्पद राष्ट्रपति चुनावपछि ब्रसल्सले मिन्स्कलाई अनुमोदन नगरेपछि ईयू र बेलारुसबीचको सम्बन्ध बिग्रिएको छ।

ईयू देशहरूले मिन्स्क र उसको सहयोगी मस्कोले आप्रवासीलाई “हाइब्रिड युद्ध”को अस्त्रका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। लाट्भियाले आप्रवासीलाई “युद्धको अस्त्र” मान्छ र उनीहरूलाई सुरक्षा कारणले सीमापार गराउन खोज्छ।

उसका भनाइमा उसले २०२१ अगस्टदेखि बेलारुसबाट अवैध रूपमा पार गर्ने आप्रवासीका १०,५२४ प्रयासहरूलाई रोकेको जनाएको छ। “लाट्भिया र युरोपेली सङ्घको बाह्य सिमानाको रक्षा गर्नु हाम्रो प्राथमिक कर्तव्य हो,” लाट्भियाको आन्तरिक मन्त्रालयले बीबीसीलाई पठाएको वक्तव्यमा भनिएको छ, “गैरकानुनी रूपमा पार गर्ने सबैलाई स्वीकार गर्नुपर्ने कुनै बाध्यता छैन।”

मन्त्रालयले कुनै पनि गलत कार्य वा आप्रवासीलाई देश प्रवेश गर्नबाट रोक्दा दुर्व्यवहार गरिएको कुरालाई अस्वीकार गरेको छ। उक्त वक्तव्यमा भनिएको छ, “अवैध रूपमा राज्यको सीमा पार गर्नबाट रोकिएका मानिसहरूलाई आवश्यक चिकित्सा सहायतासहित मानवीय सहायता प्रदान गरिन्छ।”

लाट्भियाका धेरैले “गैरकानूनी आप्रवासी” भनेर सरकारको उनीहरूलाई बेलारुसतर्फ फर्काउने निर्णयको समर्थन गरे पनि केहीले यसलाई रोक्न खोजिरहेका छन्। इभा रौबिस्को त्यस्तैमध्ये एक हुन्। उनले मध्यपूर्वबाट आएका आप्रवासीहरूलाई सहयोग गरिरहेकी छिन्। विशेषगरी उनी लाट्भिया र बेलारुसको सीमामा फसेकाहरूलाई सहायता गर्छिन्।

इसाम र उनको समूहका सदस्यहरू हताश भएका बेला उनीहरूले मद्दतका लागि स्वयंसेवकहरूलाई सम्पर्क गरे। ती स्वयंसेवकहरूले त्यसपछि मानव अधिकारका लागि युरोपेली अदालतमा मुद्दा दायर गरे।

उक्त अदालतले लाट्भियालाई अस्थायी रूपमा आप्रवासीहरूलाई स्वीकार गर्न र उनीहरूलाई मानवीय सहायता प्रदान गर्न बाध्य पार्ने खालको अन्तरिम आदेश दियो। इभा र उनका एक सहकर्मी त्यसपछि इसाम र उनको समूहलाई देशबाट बाहिर निकालिएको छैन भन्ने सुनिश्चित गर्न सीमामा पुगे।

“हामीले दुई घण्टा पर्खियौँ” इभा भन्छिन्। “उनीहरूले के गर्छन् भन्ने पक्का थिएन। उनीहरू हिउँमा काँपिरहेका थिए। हामी स्तब्ध भयौँ।”

सन् २०२१ देखि उक्त क्षेत्रमा आपत्कालीन व्यवस्था लागु गरिएको छ। त्यसले गर्दा त्यस क्षेत्रमा स्वयंसेवक, पत्रकार वा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिलाई विशेष अनुमतिविना प्रवेश गर्न दिइँदैन।

इभा र उनका सहकर्मी एग्लिस त्यहाँ कानुनत: अवैध रूपमा पुगेका थिए। त्यसैले गर्दा अहिले उनीहरूले आप्रवासीलाई अवैध रूपमा लाट्भिया छिर्न मद्दत गरेको आरोपमा फौजदारी अभियोग सामना गरिहरेका छन्।

इभालाई लाग्छ- त्यो मुद्दाको सकारात्मक पक्ष पनि छ। “हामीमाथि आपराधिक मुद्दा लागेपछि धेरै मानिसहरूलाई आप्रवासीको समर्थनमा बोल्न बाध्य तुल्यायो … ती मानिसहरू अहिलेसम्म मौन थिए।” “यदि हामीले यी मानिसहरूलाई कानुनीरूपमा शरणका लागि आवेदन दिने मौका दिएनौँ भने अवैध मानव तस्करी मात्र बढ्नेछ,” उनी भन्छिन्।

अब्दुलरहमान अहिले सुरक्षित रूपमा युरोपेली देश पुगेका छन्। उनले सुरक्षाका कारणले आफू रहेको वास्तविक स्थान खुलाउन चाहेनन्।

इसामले लाट्भियामा आफ्नो शरण लिने प्रक्रिया सुरु गरे तर उनी चाँडै आफ्नो भाइ बस्ने नेदरल्यान्ड्स गए। उनी उनको सहयोगका लागि इभाप्रति कृतज्ञ छन् तर फर्कन चाहँदैनन्।

“मसँग यति कठोर व्यवहार गर्ने देशमा म कसरी फर्कन सक्छु?” इसाम भन्छन्। “उनीहरूले हामीलाई कुटपिट गरे र धेरै बर्बर व्यवहार गरे।”

इसाम र अब्दुलरहमान दुवैले बेलारुस हुँदै कठिन यात्रा गरेकोमा पछुतो लागेको बताए। “म कसम खाएर भन्नसक्छु हामी सिरियामा खुसी थियौँ। तर म युद्ध र कठिन जीवनबाट भागेँ,” इसाम भन्छन्। “म कहाँ जान सक्थेँ र? त्यो मृत्युको यात्रा नै मेरो एकमात्र मौका थियो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *